राष्ट्रिय वाणिज्य बैंक पनि अब नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आबद्ध
१ पुस २०७८, काठमाडौं ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक रुपमा सम्झौता भएको छ ।
साथै बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।
उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्नाग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
साथै बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई डिजिटल प्ल्याट्फर्मको रुपमा कर्पोरेट पे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणाली मार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएस मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।
कर्पोरेट पे मा मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ ।
यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् ।

 
                                                                    
 
                                                                     
                                                                    