एनसेलले गर्यो साढे ५ लाख ग्राहकलाई फोरजी सिम लिन आग्रह, थ्रीजी बन्द हुँदै
१७ असार, काठमाडौं ।
चौथो पुस्ताको मोबाइल सेवा फोरजी चल्ने मोबाइल फोन भईकन पनि फोरजी सेवाको फाइदा लिन अझै पनि फोरजी सिम अर्थात युसिम नलिएका ग्राहकहरूलाई एनसेलले सिम अपग्रेड गर्न अनुरोध गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोध बमोजिम एनसेलले आफ्ना ग्राहकहरूलाई आफ्नो सिमलाई युसिम वा ई–सिम मा अपग्रेड गरी उच्च गुणस्तरको भोल्टे भ्वाइस तथा तीव्र गतिको मोबाइल डेटा सेवाको फाइदा लिन आग्रह गरेको हो ।
एनसेलका अनुसार हाल कम्पनीका १ करोड ४१ लाख सक्रिय ग्राहक रहेका छन् । जसमध्ये ८६ प्रतिशत ग्राहकले फोरजी सपोर्ट गर्ने मोबाइल उपकरण प्रयोग गर्दै आएका छन् । तर, अचम्मको कुरा झण्डै ५ लाख ५० हजार फोरजी मोबाइल प्रयोगकर्ताले अझै पनि फोरजी सेवा चलाउनका लागि आवश्यक पर्ने युसिम वा ई–सिम लिएका छैनन् ।
एनसेलले आफ्ना ग्राहकहरूलाई आधुनिक र उच्च गतिको प्रविधिमा जोड्न पुरानाे थ्रीजी सेवा बन्द गर्ने कार्यलाई तीव्र बनाएको छ । फोरजीको देशव्यापी विस्तार र मोबाइल ब्रोडब्यान्डप्रतिको बढ्दो आकर्षणका कारण थ्रीजीको आवश्यकता घट्दै गएकाले एनसेल र नेपाल टेलिकम दुवैले यसलाई चरणबद्ध रूपमा हटाउँदै लगेका छन् ।
एनसेलका अनुसार हाल कम्पनीको कुल ग्राहक सङ्ख्यामध्ये जम्मा ०.७ प्रतिशतले मात्र थ्रीजी सेवा प्रयोग गरिरहेका छन् भने करिब ०.६ प्रतिशत ग्राहकसँग थ्रीजी मात्र सपोर्ट गर्ने मोबाइल सेट छ। पुरानो प्रविधिलाई विस्थापन गरी आधुनिक डिजिटल पूर्वाधारमा जोड दिने यही योजना अन्तर्गत एनसेलले यहि असार २२ गतेदेखि पाँचवटा प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहहरूमा आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दैछ।
९५ प्रतिशत जनसंख्यामा फोरजी पहुँच, ’भोल्टे’ सेवा पनि उपलब्ध चौथो पुस्ताको प्रविधि (फोरजी) भएकाले यसमा ग्राहकले अत्यन्तै गुणस्तरीय भ्वाइस का साथै तीव्र गतिको डेटा सेवा पाउँछन् । एनसेलले देशको झण्डै ९५ प्रतिशत जनसंख्यामाझ फोरजी सेवा विस्तार गरिसकेको छ ।
यसका साथै , एनसेलले देशैभर आफ्नो फोरजी नेटवर्कमार्फत अत्याधुनिक ‘भोल्टे’ (VoLTE) सेवा विस्तार गरिसकेको छ। ग्राहकले आफ्नो मोबाइलबाट *१२३*११# डायल गरी फोरजी प्रविधिमा आधारित भोल्टे सेवा सहजै सक्रिय गर्न सक्छन् । यो सेवा लिनका लागि फोरजी चल्ने मोबाइल र युसिम हुन अनिवार्य छ । नेटवर्कमा भोल्टे एक्टिभेट गरेपछि मोबाइलको ‘सेटिङ’ मा गएर ‘भोल्टे अन’ (VoLTE On) गर्नुपर्ने कम्पनीले जनाएको छ।
For More: Ncell SIM Upgrade Request


