एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, विदेशी लगानीको वातावरणप्रति असन्तुष्टि
१९ भदौ, काठमाडौं।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले आफ्नो पदबाट राजीनामा दिएका छन्।
नियुक्ति भएको करिब १० महिना मात्रै हुँदा उनले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै पद छाडेका हुन्।
फोलेको भदौ ९ गतेको राजीनामा स्वीकृत भइसकेको छ भने नयाँ सीईओ नियुक्त नभएसम्मका लागि कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठले अन्तरिम व्यवस्था अन्तर्गत सीईओको सबै अख्तियारी सम्हालेका छन्।
स्रोतका अनुसार नेपालमा काम गर्न असहज हुनु, विदेशी लगानीका लागि अनुकूल वातावरण नरहेको महसुस हुनु र विभिन्न कानुनी तथा नीतिगत दबाब बढ्नुले फोलेलाई यो निर्णय लिन बाध्य बनाएको हो।
नेपालमा उच्च गतिको फाइभजी सेवा विस्तार, घरघरमा फाइबर इन्टरनेट र डेटा सेन्टरलगायतका महत्वाकांक्षी योजनासहित आएका फोलेले यसअघि सरकारले सहयोग गरे २५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता समेत जनाएका थिए। तर, बोर्ड पदाधिकारीदेखि विदेशी लगानीकर्तासम्मलाई विभिन्न मुद्दामामिला झेल्नुपरेको कारण उनको मनोबलमा ठूलो धक्का लागेको बताइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै एनसेललाई काटेको पत्र र फोलेको राजीनामा लगभग एकै समयमा आएको छ। प्राधिकरणले पूर्वस्वीकृति बिना कम्पनीका जग्गा, भवन, उपकरण, बीटीएस टावर वा अन्य कुनै पनि भौतिक तथा प्राविधिक संरचना बिक्री, हस्तान्तरण वा धितो राख्न नपाउने गरी पत्र काटेको थियो।
एनसेलको लाइसेन्सको म्याद ३ वर्ष मात्र बाँकी रहेको अवस्थामा आएको यो निर्देशनले कम्पनी थप लगानी गर्नबाट वञ्चित हुने र यसको सीधा असर आम उपभोक्ता तथा सेवा प्रवाहमा पर्न सक्ने चिन्ता बढेको छ।
कम्पनीले भने अवधि समाप्त भएपछि पनि सेवा निरन्तरताका लागि विदेशी लगानीको सेयरमा फेरबदल गर्न र इच्छुक नेपाली नागरिक तथा संघसंस्थालाई सेयर दिन तयार रहेको स्पष्ट पार्दै आएको छ।
तर, सरकारका पछिल्ला निर्णयहरू दूरसञ्चार ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको मर्म विपरित ढङ्गले आएको भन्दै यसले समग्र देशको लगानीको वातावरणमा नकारात्मक सन्देश जाने सरोकारवालाहरूको निष्कर्ष छ।
For More: Ncell CEO Michael Foley

