शरीरसगँको संवादः प्राकृतिक चिकित्साले सिकाएको धैर्यको विज्ञान- डा. रिदिसा पोखरेल
२०असार, काठमाडौं।
सन् १८४९ मा जर्मन चिकित्सक भिन्सेन्ट प्रिसनिट्जले अस्ट्रियाको ग्रेफेनबर्गमा पानी, सूर्यको किरण र शुद्ध आहारको सहायताले पृथक चिकित्सा पद्धति एवम् प्रयोगलको सुत्रपातले बिरामीहरूलाई निको पार्न थाले पश्चात, तत्कालीन चिकित्सा जगतले त्यसलाई व्यापक रुपमा अवमूल्यन गरेको थियो।
सो बखत उनको परिकल्पनामा प्रष्फूटित यस नवीन उपचार विधिलाई मूर्तरूप दिन पर्याप्त स्रोत, साधन, प्रयोगशाला र आधुनिक उपकरणको अभाव भएतापनि आफ्नो सूक्षम अवलोकन मार्फत मानव शरीर आफैँमा एक चैतन्य प्रणाली भएको तथा यसलाई बाधा नपुर्याइ सहयोग गरेमा यसको प्रतिरोधात्मक क्षमताले स्वत-स्फूर्त रोग निवारण गर्ने तथ्य उजागर गर्न सफल भए।
त्यही सामान्य तर गहन बुझाइबाट जन्मिएको दर्शन आज वैश्विक स्तरमा “Naturopathy” वा प्राकृतिक चिकित्साका नामले प्रख्यात छ र म आफैं BNYS (Bachelor of Naturopathy and Yogic Sciences) संकायको स्नातक तथा अभ्यासकर्ताको हैसियतले यो यात्रालाई नजिकबाट अनुभव गर्ने अवसर पाएको छु।
पौने दुई शताब्दीपछि आज हामी समक्ष पुनः एउटा विरोधाभाषपूर्ण प्रश्न चिन्ह खडा भएको छ। प्रिसनिट्जको युगमा प्रश्न थियो, “आधुनिक समयमा प्रविधिबिना उपचारको विकल्प छ/छैन? आजको युगमा प्रश्न फेरिएको छ, “प्रविधिले चिकित्सा जगतमा युगान्तकारी परिवर्तन ल्याए पनि के हामीले स्वास्थ्यको आधारभूत परिभाषा नै बिर्सियौं त?
प्रगतिको विरोधाभाष
बित्दै गएको एक शताब्दीमा मानव चिकित्साले मारेको फड्को उल्लेखनीय छ। कुनै कालखण्डमा प्राणघातक तथा उपचार गर्न लगभग असम्भव प्रतीत मानिने पोलियो, क्षयरोगजस्ता जटिल स्वास्थ समस्याहरुको उपचार सम्भव भयो।
हृदय प्रत्यारोपण सामान्य बन्दैगएको छ। जीन सम्पादनले वंशाणुगत रोगको उपचारसम्मको मार्ग दर्शन गरेको अवस्था छ। यी उपलब्धिलाई अवमूल्यन गर्नेकुनै कूतर्क छैन र हुनु पनि हुँदैन।
तर यसै क्रममा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले एउटा अप्रिय सत्य पनि उजागर गरेको छ।विश्वका करिब सत्तरी प्रतिशत मृत्युको कारण आज नसर्ने रोगहरू (Non-Communicable Diseases) बनेका छन्।
जसअन्तर्गत हृदयघात, मधुमेह, क्यान्सर र दीर्घकालीन श्वासप्रश्वास लगायतका समस्याहरु पर्दछ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पछिल्ला अध्ययनहरूले पनि हामीकहाँ पनि सङ्क्रामक रोगभन्दा जीवनशैलीमा आधारित रोग एवम् स्वास्थ समस्याका कारण मृत्यु हुनेको अनुपात बढ्दो छ भन्ने प्रवृत्तिको पूष्ट्याई गरेको पाइन्छ।
BNYS को कक्षाकोठामा हामीलाई सिकाइन्छ रोगको लक्षण मेटाउनु र रोगको जरा निर्मूल गर्नु दुई पृथख कुरा हुन्। यही भिन्नताले नै प्राकृतिक चिकित्सालाई अरू विधाबाट छुट्टै दार्शनिक स्थान दिन्छ।
Homeostasis देखि Allostasis सम्मको यात्रा
आधुनिक शरीरक्रिया विज्ञानको एउटा आधारभूत अवधारणा Homeostasis हो जसअन्तर्गत; शरीरले आफ्ना आन्तरिक अवस्था (तापक्रम, रक्तचाप, रगतको pH) स्थिर राख्ने क्षमता राख्दछ।
तर पछिल्ला दशकका न्यूरोसाइन्स र इन्डोक्राइनोलोजी अनुसन्धानले यसलाई अझ सूक्ष्म रूपमा बुझाउँदै Allostasis को सिद्धान्त अगाडि सारेका छन। जसको मूलभूत संकथन, “शरीर कहिल्यै पूर्ण रुपमा स्थिर हुँदैन; यसले बदलिँदो वातावरणसँग निरन्तर तादात्म्य मिलाउँदै एक गतिशील सन्तुलन कायम राख्छ।”
यसको व्यावहारिक अर्थ्याउँदा व्यक्तिको निद्राको गुणस्तर, खानाको समय, दैनिक तनावको स्तर, शारीरिक गतिविधि र सामाजिक सम्बन्धको गहिराइले निजको शरीरको प्रतिरोधात्मक प्रणाली र हार्मोनल सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने बुझिन्छ।
क्लिनिकल अभ्यासमा हामी दैनिक रुपमा अवलोकन गर्ने गरेका छौँ। य उस्तै उमेर, उस्तै लक्षण भएका दुई बिरामीले फरक-फरक गतिमा निको हुनुको कारण प्रायः औषधिमा भन्दा उनीहरूको जीवनशैली, निद्रा र मानसिक अवस्थामा अन्तरनीहित हुन्छ।
यो कुनै वैकल्पिक चिकित्साको दाबी होइन, यो Harvard, Stanford जस्ता विश्व विख्यात विश्वविद्यालयहरुका Psychoneuroimmunology प्रयोगशालाहरूमा दशकौंदेखि अध्ययन भइरहेको वैज्ञानिक यथार्थ हो। ठ्याक्कै यही बिन्दुमा प्राकृतिक चिकित्साको दार्शनिक आधार र आधुनिक System Biology को बुझाइ एकअर्कामा ठोकिन्छन्।
नेपालको सन्दर्भ: कानुनी मान्यता र व्यावहारिक चुनौती
नेपालमा प्राकृतिक चिकित्सा शिक्षालाई संस्थागत रूप दिने प्रयास स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अन्तर्गत भएको हो, जसले BNYS लगायतका कार्यक्रमहरूलाई मान्यता दिने संरचनागत आधार तयार गर्यो।
संविधानको धारा ३५ ले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्छ र यसको दायरा केवल एलोपेथिक उपचारमा मात्र सीमित हुनु हुँदैन भन्ने तर्क आज बलियो बन्दै गएको छ।
तर कानुनी मान्यताले मात्र पुग्दैन। एक BNYS स्नातक र प्राकृतिक चिकित्सकको हैसियतले भन्नुपर्दा ठूलो चुनौती हो। स्तरीय शिक्षा, प्रमाणमा आधारित अभ्यास र भ्रामक दाबीहरूबाट पेशाकै विश्वसनीयता जोगाउने जिम्मेवारी।
जब कोही “क्यान्सर निको हुन्छ” वा “औषधि नखाई सबै रोग ठीक हुन्छ” जस्ता अवैज्ञानिक दाबी गर्छ, त्यसले दशकौंको वैज्ञानिक विश्वसनीयतालाई एक झट्कामा धरापमा पार्छ। हामी जस्ता यस क्षेत्रमा हुर्किंदै गरेका चिकित्सक जिम्मेवारी हो ।पेशालाई भावनाको भरमा होइन, प्रमाणको जगमा उभ्याउनु।
दुई मार्गको प्रतिस्पर्धारहित सहकार्य
प्राकृतिक चिकित्सा आधुनिक चिकित्साको विकल्प होइन, परिपूरक हो। सडक दुर्घटनामा घाइते भएको बिरामीलाई शल्यक्रिया चाहिन्छ। सेप्सिसमा एन्टिबायोटिक अनिवार्य हुन्छ। हृदयघातको क्षणमा आपत्कालीन हस्तक्षेप जीवन-मृत्युको प्रश्न हो। यी सत्यलाई नकार्नु भनेको विज्ञानलाई नै नकार्नु हो र कुनै जिम्मेवार प्राकृतिक अभ्यासकर्ताले यसो गर्दैन।
तर मधुमेह, उच्च रक्तचाप, मोटोपन र दीर्घकालीन तनावजन्य समस्याहरूको मूल जरा प्रायः जीवनशैलीमै लुकेको हुन्छ र यहीं प्राकृतिक चिकित्साको योगदान बढी सान्दर्भिक रहन्छ।आहार, योग, जलचिकित्सा र व्यवहार परिवर्तनका माध्यमबाट रोकथाम र दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने, जर्मनी र स्विट्जरल्यान्डले प्राकृतिक चिकित्सालाई आधिकारिक स्वास्थ्य बिमा प्रणालीमै समाहित गरिसकेका छन्। जबकि भारतमा आयुष मन्त्रालयअन्तर्गत यसलाई राष्ट्रिय स्वास्थ्य नीतिकै अभिन्न अङ्ग बनाइएको छ। नेपालले पनि यो दिशामा थप संस्थागत लगानी र स्पष्ट नियामक ढाँचा निर्माण गर्नु आजको आवश्यकता बन्न पुगेको छ ।
प्रश्नमा संशोधन
पहिले चिकित्सा विज्ञानले सोध्थ्यो “रोग के हो?” आज थप्नुपर्ने वा संशोधन गरिनु पर्ने प्रश्न हो, “स्वास्थ्य किन टिकिरहन्छ ?” यही सोचलाई स्वास्थ्य समाजशास्त्री आरोन एन्टोनोभस्कीले दशकौं अगाडि Salutogenesis नाम दिएका थिए जस अन्तर्गत, रोगको उत्पत्ति मात्र नभई, स्वास्थ्यको उत्पत्ति बुझ्ने प्रयासमा पनि ध्यानाकर्षण गराउने प्रयत्न गरिएको थियो।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसले हामीलाई ठ्याक्कै यही बोध गराउँछ।स्वस्थ समाज एक्लो अस्पतालले बन्दैन। यो स्वस्थ विद्यालय, स्वस्थ भोजन संस्कृति, सक्रिय जीवनशैली, सन्तुलित मानसिक स्वास्थ र जिम्मेवार नागरिक चेतनाको सामूहिक उपजबाट मात्र सम्भव हुन्छ।
अन्ततः सभ्यताको साँचो मापन हामीले कति शक्तिशाली औषधि आविष्कार गर्यौं भन्नेमा मात्र सीमित छैन। यसको एउटा गहिरो मापन यो प्रश्नले पनि गर्छ,”हामीले कतिजनालाई बिरामी हुनैबाट जोगायौं ?”
सायद यही प्रश्नको निरन्तर खोजी नै प्राकृतिक चिकित्साको सबैभन्दा ठूलो बौद्धिक योगदान हो र यही खोजीमा सामेल हुन पाउने अवसर मलाई गर्वान्वित महसुस गराएको छ।
नवौँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको हार्दिक शुभकामना।
– डा. रिदिसा पोखरेल (योग तथा प्राकृतिक चिकित्सक) BNYS
For More: naturopathy patience body science


