क्यान महासंघद्वारा सफ्टवेयर खरिद निर्देशिका र छुट्टै ME&RD इकाइ स्थापनाको माग
२२ असार, काठमाडौं।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सफ्टवेयर तथा सेवा समितिको आयोजना तथा प्रेसिडेन्सियल कलेजको सहयोगमा “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार?
नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयक वृहत् नीतिगत अन्तरक्रिया कार्यक्रम काठमाडौँको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा सूचना प्रविधि उद्यमी, सफ्टवेयर विकासकर्ता, नीति निर्माता, शिक्षाविद्, स्टार्टअप प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सरकारी प्रतिस्पर्धा होइन, सहजीकरण र साझेदारी आवश्यक
छलफलका क्रममा सहभागीहरूले सरकारले निजी क्षेत्रसँग प्रविधि विकासमा प्रतिस्पर्धा गर्नुभन्दा नीति निर्माण, नियमन, साइबर सुरक्षा, साझा डिजिटल पूर्वाधार र पारदर्शी खरिद प्रणाली सुदृढ गर्दै सहजीकरणको भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सरकारी प्रविधि खरिदलाई सामान्य खर्चका रूपमा मात्र नभई स्वदेशी सूचना प्रविधि उद्योगको क्षमता विकास, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा गरिएको रणनीतिक लगानीका रूपमा हेर्नुपर्ने सुझाव प्रस्तुत गरियो ।
नेपालको सफ्टवेयर उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नवप्रवर्तन, अनुसन्धान तथा विकास (R&D), साइबर सुरक्षा मापदण्ड, सार्वजनिक-निजी सहकार्य तथा “Made in Nepal” प्रविधि समाधानलाई प्रवर्द्धन गर्ने एकीकृत नीति आवश्यक रहेकोमा सहभागीहरूबीच साझा धारणा बनेको छ ।
साथै, समग्र IT Umbrella Act निर्माणका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेको औँल्याइयो ।
अवधारणापत्र प्रस्तुत: सफ्टवेयर उद्योगका लागि रणनीतिक माग
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमा सफ्टवेयर विकासको दीर्घकालीन दृष्टिकोणसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धा नभई साझेदारीमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो – “नेपाली सफ्टवेयर उद्योगको दिगो विकासका लागि सफ्टवेयर खरिद निर्देशिका (Software Procurement Guidelines), सफ्टवेयर उत्पादन फाइनान्सिङ (Software Product Financing) र सफ्टवेयर स्टार्टअपहरूका लागि कर छुट (Tax Rebate) जस्ता नीतिगत व्यवस्थाहरू तत्काल लागू हुनुपर्छ ।”
डेटा सार्वभौमिकता र गुणस्तरका लागि छुट्टै ME&RD इकाइको माग
क्यान महासंघले डिजिटल प्रणाली तथा सेवाहरूको गुणस्तर, प्रभावकारिता, सुरक्षा तथा उत्तरदायित्वको निरन्तर अनुगमन गर्नका लागि सरकारले एक छुट्टै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकास (Monitoring, Evaluation and Research & Development – ME&RD) इकाइ स्थापना गर्नुपर्ने माग अघि सारेको छ ।
यस इकाइले राष्ट्रिय डिजिटल तथा डेटा सार्वभौमिकता (Data Sovereignty) सुनिश्चित गर्न, विदेशी प्रविधिमाथिको निर्भरता घटाउन र समान प्रकृतिका सफ्टवेयर विकास गर्दा हुने बजेटको दुरुपयोग (Duplication) रोक्न महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले स्पष्ट पार्नुभयो ।
नेपाली सफ्टवेयर इकोसिस्टमको विकासमा प्रतिबद्धता
“सफ्टवेयर तथा डिजिटल प्रणालीको प्रभावकारी विकास, सुशासन, गुणस्तर सुनिश्चितता, साइबर सुरक्षा, नवप्रवर्तन प्रवर्द्धन तथा राष्ट्रिय डिजिटल सार्वभौमिकता सुनिश्चित गर्नका लागि सरकारले ‘अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान एवं विकास (ME&R&D)’ विभागलाई समन्वय र नीतिगत सहजीकरण गर्ने बलियो संस्थागत संयन्त्रका रूपमा स्थापना गर्नु आवश्यक छ; र यस विषयमा भएको आजको नीतिगत छलफल नेपाली सफ्टवेयर उद्योगको सुदृढीकरणका लागि कोशेढुङ्गा साबित हुनेछ,” क्यान महासंघ सफ्टवेयर समितिकी सभापति एवं कार्यसमिति सदस्य शीला कार्की कंशाकारले बताउनुभयो ।
“नेपालमा बलियो, सुरक्षित र आत्मनिर्भर सफ्टवेयर इकोसिस्टम निर्माण गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो, जसले स्वदेशी प्रविधि र रोजगारीको दिगो भविष्य सुनिश्चित गर्नेछ,” क्यान महासंघ सफ्टवेयर समितिका उप-सभापति एवं सफ्टवेयर उद्यमी कमल पाठकले प्रष्ट पार्नुभयो ।
क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले महासंघको मूल दृष्टिकोण राख्दै भन्नुभयो – “क्यान महासंघ नेपालको सफ्टवेयर उद्योगको प्रवर्द्धन र विकासका लागि सधैं प्रतिबद्ध रहँदै आएको छ ।
स्वदेशी सूचना प्रविधि इकोसिस्टमलाई मजबुत बनाउन र ‘डिजिटल नेपाल’को सपनालाई साकार पार्न क्यान महासंघ आगामी दिनमा नेपाल सरकारसँग बलियो सहकार्य र साझेदारी गरेर अगाडि बढ्न चाहन्छ ।”
सरोकारवाला तथा सूचना प्रविधि कम्पनीहरूको उत्साहजनक उपस्थिति
उक्त कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष नविन जोशी, पूर्व अध्यक्ष विप्लवमान सिंह, कोषाध्यक्ष विक्रम सिंह लगायत आइसिटी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रामलक्ष्मण इनोभेसन्स, हिमालयन कस्तुरी, वान कभर प्रालि, म्याभोरियन सिस्टम्स प्रालि, ओक्टाकोर सोलुसन्स, सर्च टेक्नोलोजी, प्लुटोनिक टेक, एनएसी, एमएनए भेन्चर्स, प्रोफेसनल कम्प्युटर सिस्टम, पीबी ग्रुप, लर्निङ हब नेपाल, शीपालु सोलुसन्स, मण्डला सिस्टम प्रालि, लुम्बिनी टेक इनोभेसन सेन्टर, पेन्हाक टेक्नोलोजीस्, सोर्स कोड र डिलाइट सोलुसन्स लगायतका प्रमुख सफ्टवेयर तथा प्रविधि सम्बद्ध संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।
For more: National Software Procurement Guidelines


