नेपाली आइटी उद्योगको विकासका लागि नीतिगत सुधार अपरिहार्य: अध्यक्ष गौरव राज पाण्डे
२९ माघ, काठमाडौँ।
नेपाल आर्थिक पत्रकार संघ (सेजन) को आयोजनामा बुधबार काठमाडौंमा ‘नेपाली आइटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सरोकारवालाहरूले नेपालको सफ्टवेयर तथा सूचना प्रविधि क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन विद्यमान नीतिहरूमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
नीतिगत सुधारको आवश्यकता कार्यक्रममा बोल्दै नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास आइटी) का अध्यक्ष गौरव राज पाण्डेले नेपालको आइटी पोलिसी समयसापेक्ष नभएको टिप्पणी गर्नुभयो।
उहाँले छिमेकी राष्ट्र भारतको उदाहरण दिँदै भन्नुभयो, “भारतले सन् १९९१ देखि नै सूचना प्रविधिका क्षेत्रमा प्रभावकारी नीतिहरू ल्याएर ठूलो फड्को मारिसकेको छ, तर हामीले सन् २०२५ सम्म आइपुग्दा पनि ठोस नीतिगत सुधार गर्न सकेका छैनौँ।
“उहाँले आइटी उद्योगको गतिको तुलनामा सरकारी नीति सुस्त हुनुले विकासमा बाधा पुगेको बताउनुभयो।
नेपाललाई ‘टेक हब’ बनाउने लक्ष्य त्यस्तै, नास आइटीकी महासचिव एलिसा श्रेष्ठले संस्थाको सेवामुखी स्वरूप र यसको उद्देश्यबारे प्रष्ट पार्नुभयो। उहाँले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा एउटा बलियो ‘टेक हब’ (Tech Hub) का रूपमा चिनाउन नास आइटीले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।
“नेपालमा आइटी उद्योगको ठूलो सम्भावना छ र यसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउन थालिसकेको छ,” श्रेष्ठले भन्नुभयो।
आर्थिक पत्रकारहरूसँगको यस अन्तरक्रियाले नेपाली आइटी क्षेत्रले सामना गरिरहेका कानुनी र व्यावहारिक अड्चनहरूलाई उजागर गरेको छ। दक्ष जनशक्ति र बढ्दो निर्यात क्षमतालाई मध्यनजर गर्दै सरकारले तत्कालै ‘आइटी मैत्री’ नीति ल्याउन आवश्यक देखिएको छ।
For more: NAS-IT President Gaurav Raj Pandey



