नाडा अटो शो २०२६ निरन्तर जारी: भोटेकोशी बाढीपीडितका लागि १० लाख सहयोग घोषणा
११ भदौ, काठमाडौं।
भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (NADA) द्वारा १० लाख आर्थिक सहयोग घोषणा। साथै, नाडा अटो शो २०२६ जारी रहने जानकारी।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशका विभिन्न जिल्लाहरूमा पुगेको मानवीय र भौतिक क्षतिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (NADA) ले गहिरो दुःख व्यक्त गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा बाढीले पुऱ्याएको क्षतिलाई मध्यनजर गर्दै नाडाले राहत तथा पुनरुत्थान कार्यका लागि ठूलो कदम चालको छ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयोग
राष्ट्रिय विपद्को यस कठिन घडीमा राज्यसँग हातेमालो गर्दै नाडाले “प्रधानमन्त्री दैवी प्रकोप राहत कोष” मा रु. १० लाख (दश लाख रुपैयाँ) आर्थिक सहयोग गर्ने औपचारिक निर्णय गरेको छ। यस चुनौतीपूर्ण परिस्थितिमा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकताबद्ध भई उद्धार र राहत कार्यमा सहकार्य गर्न संस्थाले हार्दिक आह्वान गरेको छ।
नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने
यो महाविपद् राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ कै बीचमा आइपरेको हो। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै भृकुटीमण्डपमा भइरहेको अटो शो भने निरन्तर सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ।
सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयासबाट मात्रै यस विपद्को प्रभावकारी सामना गर्न सकिने विश्वास नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले व्यक्त गर्नुभएको छ।
For more: NADA Commits NPR 1 Million

