काठमाडौं, भाद्र १०।
अर्थमन्त्री डा. युवराज खतिवडाले ९० प्रतिशत डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन आयात गरेर विद्युतीय सवारीको सुविधा लिन नखोज्न अटो व्यवसायीलाई सचेत गराएका छन् ।
व्यवसायीले ९० प्रतिशत परम्परागत डिजेल र पेट्रोलबाट र बाँकी १० प्रतिशत मात्र विद्युतीय ऊर्जा चल्ने सवारीसाधन आयात गरेर भन्सार सहुलित मागेपछि अर्थमन्त्री खतिवडाले यस्तो सचेत गराएका हुन् ।
काठमाडौंमा नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं ।’
‘एस्सम्बली प्लाण्ट खोल्नुस् सरकारले भन्सार, अन्तःशुल्क र अन्य कर छुट दिन्छ’ उनले भने ‘नाम मात्रको विद्युतीय सवारीसाधन भित्राए सरकारले छुट दिँदैन । सरकारलाई झुक्याउने काम नगर्नुस् ।’