ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति

Mobile Business Organization

१४ फागुन २०७७, काठमाडौं ।

पछिल्लो केहि दिनहरुमा यस ताम्राकार कम्प्लेक्समा आबद्ध र मोबाइल व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई बदनाम गर्ने गरेर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारण भईरहेका समाचार सामाग्रीहरुप्रति हाम्रो गंभिर आपत्ति रहेको छ ।

ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई लान्छना लगाउने र उनीहरुले अबैध कारोबार गरिरहेको आरोप लगाउँदै समाचार सामाग्रीहरु आएकोमा हाम्रो गंभिर ध्यानाकर्षण भएको छ ।

सो बारेमा आज यहाँ पत्रकारहरु समक्ष यथार्थ बिबरण र जानकारीहरु सार्वजनिक गर्ने हेतुले हामी उपस्थित भएका छौं । केहि दिनअघि प्रहरीको नेतृत्वमा ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा जबर्दस्ती प्रवेश गरि सामाग्रीहरु उठाएर लगिएको र पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरि थुन्ने कार्य गरिएको छ ।

महानगरिय जनसेवा प्रहरी कार्यालय विशालबजारबाट सादा पोसाकमा प्रहरीहरु आएर हचुवाको भरमा मोबाइल व्यवसायीहरुको पसलबाट सामानहरु उठाएर लगेको र कर्मचारीहरुलाई थुनेको घटनालाई केहि संचारमाध्यमहरुले अतिरंजित गरि व्यवसायीहरुलाई नै आक्षेप लगाउने कार्य गरेको देखिएको छ ।

मोबाइल व्यवसायीहरुलाई आक्षेप लगाउने र अवैध कार्य गरेको भन्ने विषयप्रति हाम्रो गंभिर आपत्ति रहेको छ । हामीले कानूनीरुपमा दर्ता गरेर तथा सरकारी राजश्व बुझाउँदै आफ्नो व्यापार व्यवसाय गरिरहेको र हाम्रा पसलहरुमा बिक्री गरिने मोबाइल सेटहरु समेत बिल बिजकसहित बेच बिखन गर्ने गरेको जानकारी गराउँदछौं । तर गैर कानूनी र अवैधरुपमा प्रहरीले छापा हान्ने कार्य गरेर बिल नभएका मोबाइल सेटहरु जफत गरिएको भनेर सार्वजनिक गर्नु प्रहरीको अराजकता र कानूनी शासन विपरित भएको स्पष्ट पार्न चाहन्छौं ।

प्रहरीले गैरकानूनीरुपमा पसलबाट ग्राहकहरुले मर्मतका लागि पसलमा ल्याएर छोडेका मोबाइल फोन सेटहरु समेत हचुवाको भरमा उठाएर लगेको हुँदा ग्राहकहरुलाई त्यस्ता फोनहरु फिर्ता गराउन समेत कठिन भएको छ । मर्मतका लागि छोडेका ग्राहकहरुको फोन लिन आउने समयमा उनीहरुलाई सो फोन दिन सक्ने अवस्था नभएको र त्यसले ग्राहकहरुको मोबाइल फोनमा रहेका विभिन्न डाटाहरु तथा व्यक्तिगत जानकारी समेत चोरी हुनसक्ने देखिएको छ । त्यसको जिम्मेवारी समेत प्रहरी प्रशासनले लिनुपर्नेछ ।

सार्वजनिकरुपमा व्यवसाय पारदर्शि र मर्यादितरुपमा गरिरहेको समयमा प्रहरीले कुन कानून अन्तरगत हाम्रा सामानहरु जफत गरेको र उठाएर लगेको भन्ने कुनै जानकारी नदिएको र कानूनी प्रावधानअनुसार बाणिज्य विभाग वा राजश्व अनुसन्धान विभागले मात्र त्यसरी अनुगमन गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ । तर हालका जनसेवा प्रहरीका डिएसपीको आदेशमा गैर कानूनीरुपमा ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य भएकोमा हामी गंभिर विरोध गर्दछौं ।

कोरोना भाइरसको महामारीको समयमा भएको लकडाउनले व्यवसाय नै शिथिल भएको अवस्थामा प्रहरीको यस्तो अराजक, गैर कानूनी र अमर्यादित कार्यले हामी व्यवसायीहरुलाई व्यवसाय समेत गर्न नदिई तर्साउने र जबर्दस्ती थुन्ने कार्य कदापी उचित नभएको र यस्तो कार्य आगामी दिनमा बन्द गरिनुपर्ने र मर्यादितरुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दछौं ।

यसका साथै जनसेवा प्रहरीले हाम्रा पसलहरुबाट अवैधरुपमा जबर्दस्ती लगेका मोबाइल सेटहरु फिर्ता गरि क्षतिपूर्तिसमेत प्रदान गर्न कडारुपमा माग गर्दछौं । अन्यथा हामी सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।

त्यसैगरि हचुवाको भरमा व्यवसायीहरुलाई आपत्तिजनक लान्छना लगाउने कार्य नगरिदिनहुन र एकतर्फिरुपमा मात्र समाचार सम्प्रेषण नगरिदिनहुन सञ्चारमाध्यमहरुलाई समेत हार्दिक अनुरोध गर्दछौं । कोभिड महामारीका बिच संकटपूर्णरुपमा व्यवसाय गरिरहनुपरेको अवस्थामा व्यवसाय र व्यवसायीहरुलाई सहज बनाउने वातावरण सिर्जना गरिदिन सम्बन्धित सरोकारबाला निकायहरुलाई समेत ध्यानाकर्षण गराउन चाहाछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here