भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह
९ वैशाख, काठमाडौं।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने, सूचना प्रणालीप्रतिको विश्वास कमजोर बनाउने तथा सामाजिक सन्तुलनमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ।
मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि कडा कदम चालिने जनाएको छ।
मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ।
यदि आधारहीन, मिथ्या तथा भ्रामक सामग्री प्रकाशन वा प्रसारण गरिएको पाइएमा त्यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पहिचान गरी विद्युतीय कारोबार ऐन लगायत प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
साथै मन्त्रालयले सर्वसाधारणलाई पनि यस्ता सामग्री फैलाउन सहयोग पुग्ने गतिविधिमा संलग्न नहुन र सामाजिक सञ्जालमा कुनै पनि सामग्री साझा गर्नु अघि त्यसको सत्यता र आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न अपिल गरेको छ।
यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण दर्ता गर्न वा उपलब्ध फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
For More:-Ministry Warning Misleading Information



