फर्मुला–ई स्टाइलको महिन्द्रा ‘बीई ६’ बजारमा, उत्कृष्ट प्रदर्शनसहित
११ मंसिर, काठमाडौँ
महिन्द्राले विश्वकै पहिलो फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक गरेको छ ।
यसको मूल्य भारतीय रुपैयाँ २३.६९ लाख तोकिएको छ । यसका अतिरिक्त, थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४.४९ लाख भारु तोकिएको छ ।
कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी २०२६ बाट प्रारम्भ हुनेछ । पहिले आउने ९९९ जना ग्राहकले विशेष सुविधाहरू पाउनेछन् ।
साथै, छनोट गरिएका तीन भाग्यशाली ग्राहकले २०२६ को लन्डन ई–प्रिक्स प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।
यस संस्करणमा बीई–६ को आधारभूत प्रदर्शनलाई जोगाउँदै रेसिङ–थिमका विशेष फिचरहरू थपिएका छन् । यसले ०–१०० किमी / घन्टा ६.७ सेकेन्डमा गति लिन सक्छ, २८२ बीएचपी पावर उत्पादन गर्छ र ७९ किलोवपाट ब्याट्री सहित करिब ५०० किमि वास्तविक रेंज प्रदान गर्छ ।
साथै, यसमा रेस–मोडबाट प्रेरित टर्क डेलिभरी पनि समावेश गरिएको छ ।
महिन्द्राले बीई ६ फर्मुला ई एडिसन राइड पनि सार्वजनिक गरेको छ । जुन बालबालिकाका लागि तयार गरिएको रमाइलो, रेस–थिमको टोडलर कार हो ।
यसको मूल्य भारतीय रुपैयाँ १८,००० तोकिएको छ र अप्रिल २०२६ देखि उपलब्ध हुनेछ ।
कम्पनीले यसको डिजाइनलाई पुरै आकारको एसयूभीसँग मिल्दोजुल्दो बनाएको बताएको छ जसले साना बालबालिकामाझ इभि (इलेक्ट्रिक) को आकर्षण बढाउने लक्ष्य राख्छ ।
महिन्द्राका शीर्ष अधिकारी आर. भेलुसामी, प्रेसिडेन्टले भने,‘भारतमा रेसिङ अब निस्को रुचि मात्र रहेन, यो जीवनशैली बन्दैछ । यही उर्जालाई सुनेर हामीले यो फर्मुला–ई एडिसन बनायौं साहसी, भावनात्मक र भारतमै बनेको ।’
कम्पनीका अनुसार, भारतमा द्रुत रूपमा बढिरहेको मोटरस्पोर्ट लोकप्रियतालाई सम्मान गर्दै यो संस्करण सार्वजनिक गरिएको हो ।
महिन्द्राले आफ्नो लामो मोटरस्पोर्ट यात्रा र्याली स्पोर्टदेखि फर्मुला ई-ग्रिडमा जित हासिल गर्ने एकमात्र भारतीय टोली सम्मको अनुभवलाई सडकमा ल्याएको दाबी गरेको छ ।
यस संस्करणमा मोटरस्पोर्ट–प्रेरित स्टाइलिङ, ग्राफिक्स र इन्टेरियर डिटेलिङलाई प्राथमिकता दिइएको छ ।



