नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट, धरौटी शुल्क २० हजार घटायो

nepal telecom offer

२०७६ साउन २७ गते

नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ ।
हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । ती मध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो ।
कम्पनीले ०७६ बैशाख १६ देखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ ।
जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रुपैयाँ मात्र लाग्छ । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने जम्मा २४ रुपैयाँमा विश्वभर सन्देश (कmक) पठाउन सकिनेछ । साथै निशुल्क सन्देश पनि प्राप्त गर्न सकिनेछ ।
यसका साथै उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ मात्र लाग्ने छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जिएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ ।
कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । साथै कम्पनीका जिएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।
रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाल लगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ ।
प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि *1415# डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिन्छ ।
पोष्टपेड मोबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्दछ ।  त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np/pages/view/roaming मार्फत यस सम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here