कीर्तिपुर अस्पताललाई काठमाडौं महानगरको एक करोड अनुदान, जलन उपचारका लागि कोष स्थापना
२६ भदौ, काठमाडौं।
काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई जलन उपचार तथा स्वास्थ्य सेवा सुधारका लागि एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालमा आयोजित औजार तथा उपकरण हस्तान्तरण एवं जलन उपचार कोष स्थापनासम्बन्धी कार्यक्रममा उक्त रकमको चेक अस्पताललाई हस्तान्तरण गरिन् ।
कार्यवाहक प्रमुख डंगोलले स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुपर्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने बताइन् ।
उनले स्वास्थ्य सेवा महँगो भएकै कारण कमजोर आर्थिक अवस्थाका बिरामी उपचारबाट वञ्चित हुने अवस्था अन्त्य गर्न महानगरपालिकाले विभिन्न अस्पतालसँग सहकार्य गर्दै आएको उल्लेख गरिन् ।
उनका अनुसार महानगरपालिकाले वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदय केन्द्रलगायत विभिन्न अस्पतालसँग सहकार्य गर्दै आएको छ । त्यसैगरी कीर्तिपुर अस्पतालसँग पनि विगतदेखि नै सहकार्य हुँदै आएको उनले बताइन् ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट कीर्तिपुर अस्पतालमा लिफ्ट निर्माण गर्नुका साथै एक्स–रे मेसिन, एनेस्थेसिया मेसिन र जेनेरेटरसमेत उपलब्ध गराएको डंगोलले जानकारी दिइन् । आधुनिक एक्स–रे मेसिनको प्रयोगपछि बिरामीलाई सेवा दिन लाग्ने समय घटेको र सेवाग्राहीको लामो प्रतीक्षा कम भएको उनले बताइन् ।
उनका अनुसार उक्त एक्स–रे मेसिनबाट दैनिक औसत ९० देखि १०० जना बिरामीले सेवा लिइरहेका छन् । एनेस्थेसिया उपकरणबाट पनि अस्पतालले थप प्रभावकारी सेवा प्रदान गरिरहेको उनले उल्लेख गरिन् ।
डंगोलले स्वास्थ्य सेवामा विद्युत् आपूर्ति अत्यन्त संवेदनशील विषय भएको बताउँदै अस्पतालमा विद्युत् अवरुद्ध हुँदा उपचार सेवा प्रभावित हुन नदिन जेनेरेटर हस्तान्तरण गरिएको बताइन् । ‘स्वास्थ्य सेवामा दोस्रो अवसर हुँदैन। त्यसैले कुनै पनि अवस्थामा उपचार सेवामा अवरोध आउन दिनु हुँदैन,’उनले भनिन् ।
उनले जलन उपचारको क्षेत्रमा पछिल्लो एक दशकमा उल्लेखनीय सुधार भएको पनि बताइन् । उनका अनुसार सन् २०१४ मा ४० प्रतिशतसम्म शरीर जलेका बिरामीलाई बचाउने सम्भावना अत्यन्त न्यून रहेकोमा हाल त्यस्ता बिरामीको बाँच्ने दर करिब ५० प्रतिशत पुगेको छ ।
अबको १० वर्षमा ७० प्रतिशतसम्म शरीर जलेका बिरामीलाई समेत बचाउने दर कम्तीमा ५० प्रतिशत पुर्याउने लक्ष्य अस्पतालले लिएको भन्दै डंगोलले त्यसका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
उनले जलन उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षताभन्दा पनि आवश्यक पूर्वाधार, उपकरण र प्रविधिको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको बताइन् । विकसित मुलुकमा अत्यधिक जलन भएका बिरामीको समेत उपचारबाट जीवन बचाउने दर उच्च रहेको उल्लेख गर्दै नेपालमा पनि आधुनिक प्रविधि र आवश्यक सामग्रीको पहुँच विस्तार गर्नुपर्नेमा उनले जोड दिइन् ।
डंगोलले महानगरपालिकाले बजेट खर्च गर्ने मात्र नभई आवश्यक र प्रभावकारी क्षेत्रमा लगानी गर्ने नीति लिएको बताइन् । अस्पतालसँगको छलफलपछि यसपटक भौतिक पूर्वाधारमा मात्र नभई स्वास्थ्य सेवामै लगानी गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।
‘अस्पताल भनेको भवन, उपकरण र पूर्वाधार मात्र होइन, त्यहाँबाट प्रदान गरिने सेवा पनि हो,’ उनले भनिन्, ‘त्यसैले यसपटक हामीले पूर्वाधारमा मात्र नभई सेवामा लगानी गर्ने निर्णय गरेका हौँ ।’
महानगरपालिकाले उपलब्ध गराएको १ करोड रुपैयाँ अस्पतालको जलन उपचार कोषमा जम्मा गरिनेछ । उक्त कोषबाट जलनमा परेका बिरामीलाई अधिकतम २ लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराइने डंगोलले जानकारी दिइन् ।
For More: Kirtipur Hospital Burn Treatment

