KCC पत्रकारिता पुरस्कार बाट मैनाली र पकुवाल सम्मानित

Share It On:

काठमाडाैं 

केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५’ बाट मोहन मैनाली र माया पकुवाल सम्मानित, केसीसी मिडिया जर्नल अङ्क २ विमोचित

कान्तिपुर सिटी कलेज (केसीसी)द्वारा स्थापित ‘केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५’ बाट वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाल सम्मानित भएका छन् । एक कार्यक्रमका बीच सम्मानित दुवै जनालार्इ जनही २५ हजार रूपैयाँसँगै ताम्रपत्र प्रदान गरियाे । नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य र राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले ताम्रपत्रसहित सम्मानित गर्नुभएकाे हाे ।

पत्रकार मोहन मैनाली र माया पकुवालले पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा व्यावसायिक कार्यहरूमा थप उत्साह मिलेको बताउनुभयो । वरिष्ठ पत्रकार मोहन मैनालीले विगत २८ वर्षदेखि अनुसन्धानमूलक रिपोर्टिङ्ग, वातावरण बिट, ग्रामीण क्षेत्रमा फिल्ड रिपोर्टिङ्ग, डकुमेन्ट्री र मिडिया तालिमकर्ताका रूपमा कार्य गर्दै हुनुहुन्छ । त्यसैगरी, पत्रकार माया पकवाल झापाबाट प्रकाशित वरुण साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ । उहाँको भर्खरै मात्र किड्नीको शल्यक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको थियो । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो । पत्रकारका लागि आत्मनिरीक्षणसम्बन्धी प्रा. रामकृष्ण रेग्मी, टिभी कार्यक्रममा मानवीय भावना विरुद्ध जनजाति भावनाबारे डा. भानुभक्त आचार्य, मिडियाले अभियुक्तलाई अपराधी लेखिदिनेबारे डा. दीपेश केसी, सूचनाको हकको अडिटबारे एकराज पाठक, भूकम्पपछि रेडियो भूमिकाबारे जनार्दन विष्ट, धरहरा र काष्ठमण्डपबारे कभरेजले दिएको मिडियाको शिक्षाबारे आभास धरानन्द राजोपाध्याय, विकास पत्रकारिताबारे सुजिना शाक्य र मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्धबारे राजेश कुमार पाठकका नौवटा अनुसन्धानमूलक आलेखहरू उक्त जर्नलमा समावेश छन् ।
कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट ओमप्रकाश गोयल स्वर्ण पदक प्राप्त गर्नुहुने माधव थापा क्षेत्री (२०१५को स्वर्ण पदक) तथा चिरञ्जीवि देवकोटा (२०१४को स्वर्ण पदक) विजेतालाई सम्मान पनि गरिएको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *