कामना सेवा बैंकद्वारा फुटसल कप सिजन ६ को टाई-सिट ड्र, जर्सी र एन्थम सार्वजनिक
११ कात्तिक, काठमाडौं।
कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई-सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्राण्ड एन्थम सार्वजनिक गर्ने कार्यक्रम कात्तिक ११ गते भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले कामना सेवा फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभई खेलकुद मार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए । उनले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गरेका थिए । साथै, उनले सहभागी टोलीका टिम म्यानेजरहरूलाई जर्सी हस्तान्तरण पनि गरे । सोही अवसरमा प्रतियोगिताको टाई-सिट ड्र सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा गत सिजन (सिजन ५) का पुरुष तर्फका उपाधि धारक सिद्धार्थ बैंक र महिला तर्फका उपाधि धारक लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले आफ्ना मन्तव्य राखे ।
बैंकको आयोजना गरेको यस प्रकारको खेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु बीच भाइचारा विकास हुने भएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए र सबै सहभागी टोलीलाई शुभकामना व्यक्त गरे ।
त्यसैगरी FIFA AFC Elite असिस्टेन्ट रेफ्री (AR) हरीश कार्कीले प्रतियोगिताका खेल नियमहरूबारे विस्तृत जानकारी गराए । उनले खेलको अनुशासन, फाउल तथा निर्णय सम्बन्धी नियमहरू सबै टोलीले राम्ररी बुझेर स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे । कार्यक्रममा SAAF फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति रहेको थियो ।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबार र आइतबार, कात्तिक १४ र १५, २०८३ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ । कामना सेवा विकास बैंकले खेलकुद प्रवर्द्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागिता प्रोत्साहनको उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
For More: kamana Sewa Futsal Cup Season6

