नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा उपाध्याय नियुक्त
५ चैत, काठमाण्डौं।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गतेको बोर्ड बैठकले कम्पनीको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्षले फागुन ३० नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहपछि नवनियुक्त अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको पहलहरूले आफु उत्साहित भएको बताए ।
‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र USSD (अफलाइन) मोड जस्ता सुविधा प्रदान गर्दै आएको छ,’ उनले भने, ‘सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोगद्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं ।’
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्ने बताइएको छ ।