अर्थ मन्त्रालयद्वारा जाजरकोट भूकम्पमा भत्किएका विद्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन

Earthquake School

१२ चैत, काठमाण्डौं। 

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।

भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र बझाङमा गरी ७ सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिको राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए ।

यस्तै दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/०८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । सरोकारवालाहरुबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको गुनासो पटकपटक आउने गरेको थियो ।

यद्यपि आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here