ईशान बाल तथा महिला अस्पतालमा सुरु भयो सिटिस्क्यान सेवा, एक महिनासम्म १०% छुट
२६ जेठ, काठमाडौं।
बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो सेवा विस्तार गर्दै अत्याधुनिक सिटिस्क्यान (CT Scan) सेवा थप गरेको छ। अस्पतालले आजैदेखि यस नयाँ मेसिनको औपचारिक जडान गरी सेवाको विधिवत प्रारम्भ गरेको हो।
अत्याधुनिक बालमैत्री प्रविधि र उपचारमा सहजता
नयाँ स्वास्थ्य सेवा सुरु भएको विशेष अवसरमा अस्पतालले आजका दिनदेखि एक महिनासम्म सिटिस्क्यान सेवा शुल्कमा १० प्रतिशत विशेष छुट दिने घोषणा समेत गरेको छ।
अस्पतालका निर्देशक प्रा.डा. आर.पी. चौधरीका अनुसार अस्पतालमा ‘एडभान्स लेभल’को बालमैत्री (Child-Friendly) सिटिस्क्यान मेसिन जडान गरिएको छ। यसले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर र चुस्ततालाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।
“यसअघि हाम्रो अस्पतालमा सिटिस्क्यान गर्नुपर्ने बिरामीहरूलाई बाहिर अन्य केन्द्रहरूमा पठाउनुपर्ने बाध्यता थियो। त्यसले गर्दा बिरामी र आफन्तले झन्झट बेहोर्नुपर्ने र रिपोर्ट आउन समेत ढिलाइ हुने गरेको थियो,” डा. चौधरीले भन्नुभयो। “अब अस्पतालभित्रै यो मेसिन सञ्चालनमा आएपछि आवश्यकता अनुसार तत्कालै जाँच गर्न सकिनेछ र रिपोर्ट पनि निकै छिटो उपलब्ध हुनेछ।”
निजी क्षेत्रको अग्रणी अस्पतालको रूपमा स्थापित
निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो बाल अस्पतालको रूपमा स्थापित ईशानले पछिल्ला वर्षहरूमा महिलाहरूको उपचारका लागि समेत छुट्टै र विशिष्ट छवि बनाउन सफल भएको छ।
समयसापेक्ष रूपमा अत्याधुनिक उपकरण तथा नवीनतम प्रविधिहरू भित्र्याउँदै उपचार सेवामा निरन्तर फड्को मार्दै आएको ईशान अस्पतालले पछिल्लो पटक सुरु गरेको सिटिस्क्यान सेवालाई त्यसैको एउटा निरन्तरता भएको जनाएको छ।
For more: Ishan Hospital CT Scan Service Now Available


