नेपालमा एआई र डाटा शिक्षाको नयाँ युग: डिजि स्कुल र इन्स्टिच्युट अफ एनालिटिक्सबिच ऐतिहासिक साझेदारी
३ असार, काठमाडौं ।
नेपालको डिजिटल शिक्षा क्षेत्रमा एउटा नयाँ र महत्त्वपूर्ण अध्याय थपिएको छ। काठमाडौँको मैतिदेवीस्थित अग्रणी एड-टेक संस्था डिजि स्कुल र बेलायतको प्रतिष्ठित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए – IoA) बिच विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई (AI) सम्बन्धी शिक्षा र प्रमाणीकरण कार्यक्रम नेपालमा विस्तार गर्ने उद्देश्यका साथ ऐतिहासिक व्यावसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
काठमाडौँस्थित म्यारियट होटलमा आयोजित एक विशेष समारोहमा डिजि ग्रुपका प्रमुख कार्यकारी अधिकृत (CEO) राजु बानियाँ तथा आईओएका ग्लोबल कमर्सियल डाइरेक्टर ओल्गा साराले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
स्नातक तह र दक्ष पेशेवरहरू लक्षित नयाँ कार्यक्रम
डिजि स्कुलले विगत पाँच वर्षदेखि विद्यालय तहमा आफ्नो प्रतिष्ठित साझेदार एनसीसी एजुकेसन युके (NCC Education UK) सँगको सहकार्यमा सूचना प्रविधि सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तर, यो नयाँ सम्झौता भने विशेष गरी स्नातक तहका विद्यार्थी र डाटा क्षेत्रमा करियर बनाउन चाहने पेशेवरहरूलाई लक्षित गरी गरिएको प्रत्यक्ष व्यावसायिक सहकार्य हो।
‘आईओए नेपाल च्याप्टर’ को स्थापना र अवसरहरू
यो साझेदारीसँगै नेपालमा पहिलो पटक आधिकारिक रूपमा ‘आईओए नेपाल च्याप्टर’ (IoA Nepal Chapter) स्थापना हुने बाटो खुलेको छ। यसले नेपाली विद्यार्थी, शिक्षक तथा एआई क्षेत्रमा कार्यरत जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक समुदायसँग जोड्नेछ।
सम्झौताका मुख्य फाइदाहरू:
६००+ अन्तर्राष्ट्रिय कोर्षहरू: विद्यार्थीहरूले आईओए अन्तर्गत उपलब्ध ६०० भन्दा बढी विश्वस्तरीय कोर्षहरू अध्ययन गर्न पाउनेछन्।
सेल्फ-स्टडी प्रणाली: विद्यार्थीहरूले आफ्नो समय र सुविधाअनुसार आधुनिक प्रविधिमार्फत उन्नत तालिम लिन सक्नेछन्।
ग्लोबल सर्टिफिकेट र नेटवर्किङ: विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्रका साथै अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग नेटवर्किङ र करियर विकासको अवसर मिल्नेछ।
डिजिटल रूपान्तरणमा नयाँ फड्को
सफ्ट एड ग्रुप अफ कम्पनीज (SoftEd Group of Companies) अन्तर्गत सञ्चालित डिजि स्कुल नेपालमा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा अग्रणी संस्था हो। डिजि स्कुलको स्थानीय डिजिटल सिकाइ पूर्वाधार र आईओएको विश्वव्यापी दक्षता मापदण्डको संयोजनले नेपालको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रिय उद्योगको आवश्यकतापिच रहेको खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस ऐतिहासिक साझेदारीले नेपाली युवाहरूलाई डाटा-सञ्चालित विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक पर्ने २१औँ शताब्दीको डिजिटल सीप प्रदान गर्दै देशको डिजिटल रूपान्तरणमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
For more: IoA Nepal Chapter Launched


