२१ जेठ, काठमाडौं ।
लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ ।
आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।
उनीहरुले कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनीसहितको सूचना ब्रोकर कार्यालयमा टाँसेका हुन् ।
टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।
लगानीकर्ताको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीका कार्यालयहरुमा आई बन्द गराउँदै हिडेका छन्। आजदेखि आन्दोलनका मागहरु पुरा नभएसम्म दोस्रो बजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षति हुनसक्ने उनीहरुले जनाएका छन्।
‘लगानीकर्ताबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महसुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं,’ ब्रोकर संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।