नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
३ जेठ, काठमाडौं।
वाणिज्य एवं अर्थशास्त्रीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड दिँदै सम्पन्न भएको छ ।
मेगा कलेज कुमारी पाटीमा २ दिनसम्म चलेको सम्मेलनले नेपालमा व्यवस्थापन, वाणिज्य र व्यापारका विद्यार्थीहरूलाई विश्व स्तरीय पहुँच वृद्धि गर्नुपर्ने निर्णय समेत गरेको छ ।
सम्मेलनको निष्कर्षका रूपमा प्रस्तुत गरिएको ८ बुँदे घोषणापत्रमा सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक रूपान्तरणको अभियानलाई सार्थकता दिनुपर्ने उल्लेख छ ।
आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहले नेपाली प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले सम्मेलनबाट बौद्धिक लाभ लिएको बताए । उनले शैक्षिक अनुसन्धानमा बजेट वृद्धि, निजी क्षेत्रसँग सहकार्य, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नवप्रवर्तन लगायतका सन्दर्भमा सम्मेलनले ठोस नीतिगत योगदान दिएको बताए ।
‘सधैँ विदेशीको अनुसन्धानलाई मात्रै साभार गर्नुभन्दा नेपालकै अर्थशास्त्रीहरूले नेपालको बारेमा गरेका अनुसन्धानहरूलाई सम्मेलनमा प्राथमिकता दिएका थियौँ । सम्मेलनका निष्कर्षले विश्वविद्यालय र सरकार दुवैलाई नीतिगत मार्ग निर्देशन गर्ने अपेक्षा लिएका छौँ’, साहले भने ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्राध्यापक डा.दिलीप पराजुलीले नेपाल आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्न लागेको बेला अर्थशास्त्रीहरूले विशेष योगदान गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको कक्षामा मात्रै सीमित शैक्षिक अनुसन्धानलाई राज्यले नै प्राथमिकतामा राख्नुपर्ने बताए ।
सम्मेलनमा सहभागी भारतको बनारस हिन्दु विश्वविद्यालयका व्यवस्थापन संकाय प्रमुख प्राध्यापक डा।हरेन्द्र कुमार सिंहले शैक्षिक अनुसन्धानका क्षेत्रमा नेपाल र भारतबिच पर्याप्त सहकार्यको ढोका खुला राख्नुपर्ने बताए ।
सम्मेलनमा दक्षिण एसियाली अनुसन्धानकर्ताहरूको ५ वटा र नेपाली विद्यार्थीहरूको ९ वटा अनुसन्धान पत्रमाथि छलफल भएको थियो । मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।
For More:-Digital Transformation International Conference


