२५ असार, काठमाडौँ।
लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर २०८० असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गर्ने भएका छन् । लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
एकिकृत कारोबार प्रयोजनको लागि असार २७ र २८ गते दुवै बैंकका सम्पूर्ण शाखाहरु बन्द हुने भएका छन् । त्यस समयमा मर्जर सम्बन्धी Data migration को कार्यले गर्दा बैंकका सम्पूर्ण प्रणालीहरु बन्द हुने छन् ।
सो अवधिमा क्रेडिट कार्ड सेवा भने सुचारु नै रहने छ ।
दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक हुन लागेका हुन ।
दुई बैंक एक भई लक्ष्मी सन्राइज बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू हुने जानकारी बैंकले दिएको छ । मर्जर पश्चात् बन्ने बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ । एकिकृत कारोबार सुरू गर्न डाटा माइग्रेसन लगाएतका प्रयोजनका लागि दुबै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा अबरूद्ध हुने जानकारी बैंकहरूले दिएका छन् ।
यी दुई बैंक समान हैसिएतमा एक हुन लागेका हुन । हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सन्राइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्तापूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ । एकिकृत कारोबारका दिनदेखि बढीमा १५ कारोबार दिन दुबै बैंकको शेयर कारोबार समेत बन्द रहनेछ ।