पेशागत बीमा अभिकर्ता संघद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाखभन्दा बढी सहयोग
२६ भदौ, काठमाडौं।
पेशागत बीमा अभिकर्ता संघ नेपाल राष्ट्रिय समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १२०११११|- को आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
भोटेकोशी बाढी पीडितहरूको सहयोगार्थ देशैभरिका विभिन्न बीमा कम्पनीका अभिकर्ताहरूबाट संकलन गरिएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा माननीय अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
संघका अध्यक्ष ओमबहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहत रकम हस्तान्तरण गरेको हो। उक्त टोलीमा संघका वरिष्ठ उपाध्यक्ष दीपक अर्याल, महासचिव कल्याण बिक्रम पाण्डे र कोषाध्यक्ष नानीमाया सापकोटाले सहभागिता जनाउँदै संघको तर्फबाट चेक हस्तान्तरण गरेका थिए।
सबै बीमा कम्पनीहरूको साझा संगठनको रूपमा रहेको यस संघले विपद्को यस घडीमा मानवीय सहायतार्थ देशव्यापी रूपमा रकम संकलन अभियान सञ्चालन गरेको थियो।
अभियान अन्तर्गत विभिन्न जीवन बीमा कम्पनीका अभिकर्ताहरूले उत्साहजनक सहभागिता जनाउँदै आर्थिक सहयोग जुटाएका छन्। संकलित विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताबाट रु. २,४८,५०१, नेशनल लाइफबाट रु. २,४३,९४२, एल.आई.सी. नेपालबाट रु. २,१३,९७५ र हिमालयन लाइफबाट रु. १,५९,५०० संकलन भएको छ।
त्यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीबाट रु. १,५०,०००, सन नेपाल लाइफबाट रु. १,०७,२६६, एशियन लाइफबाट रु. ७७,६९६ र प्रभु महालक्ष्मी लाइफबाट रु. ५,१०० गरी जम्मा रु. १२,०५,९८०/- राहत कोषमा जम्मा गरिएको छ।
विपद् तथा संकटको बेलामा सामाजिक उत्तरदायित्व बहन गर्दै बीमा क्षेत्रका अभिकर्ताहरूले गरेको यो योगदानले बाढी पीडितहरूको राहत तथा पुनस्थापनामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
For More: Insurance Agents Association Relief

