इन्द्रजात्रा जस्तो ऐतिहासिक र पूरानो पर्व संसारमै छैन् : संस्कृतिविद् डा.माधव भट्टराई
९ असोज, काठमाडौं।
काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व मनाइन्छ । यस पर्वलाई नेवार समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा पनि लिइन्छ ।
इन्द्रजात्राको औपचारिक सुरुआत भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि हुने परम्परा छ । त्यसपछि विभिन्न देवीदेवताको पूजा–आराधना गर्ने गरिन्छ ।
संस्कृतिविद् डा. माधव भट्टराईले इन्द्रजात्रा नेपालको मात्रै नभई विश्वकै प्राचीन सांस्कृतिक पर्वमध्ये एक रहेको बताए । उनले इन्द्रजात्राको परम्परा अत्यन्त पुरानो रहेको उल्लेख विभिन्न शास्त्रीय ग्रन्थहरूमा समेत पाइने बताए । उनले भरतमुनिको नाट्यशास्त्रमा समेत इन्द्रसँग सम्बन्धित परम्पराको वर्णन रहेको उल्लेख गरे ।
‘इन्द्रजात्रा संसारकै सबैभन्दा पुरानो पर्व हो । भरतमुनिको नाट्यशास्त्रमा समेत इन्द्रको वर्णन गरिएको छ । ईस्वी सम्बत करिब तीन हजार वर्ष हुन लाग्यो । त्यो बेलाका भरतमुनिले पनि इन्द्रजात्राको वर्णन गरेका छन् ।’
इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध प्राचीन भारतीय ग्रन्थ नाट्यशास्त्रसँग जोडिएको बताए । भरतमुनिको नाट्यशास्त्रमा इन्द्रसँग सम्बन्धित प्रसङ्ग उल्लेख भएको बताउँदै उनले त्यसको समय ईसापूर्व तेस्रो शताब्दी आसपास रहेको उल्लेख गरे ।
यस्तो लामो इतिहास भएको पर्व इन्द्रजात्रा नेपालमा अहिले पनि जीवित परम्पराका रूपमा मनाइँदै आएको उनले बताए ।
डा.भट्टराईले नेपालमा मनाइने इन्द्रजात्राको परम्परा अत्यन्त पुरानो र समृद्ध रहेको बताए । उनले युरोप तथा अमेरिकामा करिब १०० देखि १५० वर्ष पुराना पर्वहरू रहेको दाबी गर्दै नेपालमा भने लामो ऐतिहासिक परम्परा बोकेका पर्वहरू रहेको बताए ।
‘यति पूरानो पर्व संसारमा छैन । विदेशतिर युरोप, अमेरिकाका १०० वर्षका पर्व होलान्, एक डेढ सय वर्षका पर्व छन् । उनीहरूसँग इतिहास नै छैन, त्यस्तो समृद्ध संस्कृति नै छैन,’ उनले भने, ‘इन्द्रजात्रामा ध्वजा फहराउने, लिङ्गो ठड्याएर एउटा राजकीय शक्ति प्राप्त हुन्छ, शत्रु विजय हुन्छ भन्ने पनि शास्त्रमा लेखिएको छ ।’
इन्द्रजात्रामा ध्वजा फहराउने तथा लिङ्गो ठड्याउने परम्परा पनि धेरै पूरानो भएको उनले बताए । भट्टराईले यसको धार्मिक तथा राजकीय अर्थसमेत रहेको बताए । उनका अनुसार शास्त्रीय परम्परामा लिङ्गो ठड्याउनु राजकीय शक्ति प्राप्ति र शत्रुमाथि विजयसँग सम्बन्धित मान्यता रहेको पाइन्छ ।
डा.भट्टराईले इन्द्रजात्राको अर्को महत्वपूर्ण पक्ष यसको बहुसामुदायिक सहभागिता रहेको बताए । काठमाडौंको हनुमानढोकामा आयोजना हुने इन्द्रजात्रामा विभिन्न समुदाय र सामाजिक तहका मानिसहरूको सहभागिता रहने उनले जानकारी दिए ।
उनले इन्द्रजात्रा केवल एउटा समुदायको पर्वका रूपमा सीमित नभई काठमाडौं उपत्यकाको साझा सांस्कृतिक परम्पराका रूपमा विकास भएको बताए ।
‘इन्द्रजात्रामा सबै समुदायको सहभागिता हुन्छ । हनुमानढोकामा हेर्नुभयो भने विभिन्न जातजाति र सामाजिक तहका मानिसहरूको सहभागिता देखिन्छ । यो इन्द्रजात्राको विशेष पक्ष हो,’ उनले भने।
उनका अनुसार इन्द्रजात्रामा नेपालका वैदिक, बौद्ध र तान्त्रिक परम्पराको समेत समिश्रण देखिन्छ । पर्वका क्रममा होम, पूजा, बलि तथा विभिन्न तान्त्रिक विधिका कर्महरू सञ्चालन हुने भएकाले इन्द्रजात्रा धार्मिक र सांस्कृतिक दृष्टिले पनि विशिष्ट रहेको उनले बताए ।
उनले भने, ‘इन्द्रजात्रामा वैदिक, बौद्ध र तान्त्रिक तीनै परम्पराको प्रभाव देखिन्छ । होम हुन्छ, पूजा हुन्छ, तान्त्रिक विधिका कर्महरू पनि हुन्छन् । त्यसैले यो विशेष खालको पर्व हो ।’
इन्द्रजात्रामा कुमारीको रथयात्रा तथा दर्शनको पनि विशेष महत्व रहेको संस्कृतिविद् भट्टराईले बताए । उनले कुमारीलाई देवीको प्रतीकका रूपमा मान्ने नेपाली परम्पराले जीवित व्यक्तिको सम्मान गर्ने संस्कृतिलाई समेत प्रतिबिम्बित गर्ने उल्लेख गरे । उनले काठमाडौंसँगै पाटन, भक्तपुर, नुवाकोट लगायतका स्थानमा समेत कुमारी परम्परा रहेको बताए ।
उनले भने, ‘कुमारी नेपालको विशेषता हो । हामी जीवित व्यक्तिको पनि सम्मान गर्छौँ । कुमारीलाई शास्त्रले देवीको प्रतीक मानेको छ । इन्द्र, कुमारी, वर्षा, सहकाल र शक्तिसँग जोडिएको यो परम्परा हाम्रो सांस्कृतिक पहिचान हो ।’
इन्द्रजात्राको अर्को महत्वपूर्ण पक्ष रथयात्रा रहेको उनले बताए । रथ तान्दा विगतका पाप, अनिष्ट तथा अनुचित कर्म नाश हुने धार्मिक विश्वास रहेको उनले बताए । इन्द्रजात्रामा इन्द्र देवताको पूजा गरिनुको मुख्य कारण वर्षा र सहकालसँग जोडिएको धार्मिक तथा सांस्कृतिक विश्वास रहेको उनले बताए ।
वैदिक परम्परामा इन्द्रलाई देवताहरूका राजा तथा वर्षाका देवताका रूपमा मानिने भएकाले कृषिसँग समेत इन्द्रजात्राको सम्बन्ध रहेको उनले बताए ।
‘हामी कृषिप्रधान भूगोल भएका देशका मानिस हौँ । वर्षा हाम्रो जीवनका लागि महत्वपूर्ण छ । त्यसैले सहकालका लागि इन्द्रको पूजा गर्ने परम्परा बसेको हो । इन्द्रलाई देवताहरूका राजा अर्थात् देवराज इन्द्र भनिन्छ,’ उनले भने ।
भट्टराईले इन्द्रजात्रालाई नेपालको सांस्कृतिक सम्पदा र पहिचानका रूपमा विश्वस्तरमा प्रचार गर्नुपर्ने उनले बताए । इन्द्रजात्राका अवसरमा नेपालमा रहेका विदेशी कूटनीतिज्ञ तथा विभिन्न देशका प्रतिनिधिहरू समेत सहभागी हुने भएकाले यसलाई नेपालको संस्कृति प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘यस्तो प्राचीन र समृद्ध परम्परालाई विश्वसामु चिनाउनुपर्छ । इन्द्रजात्राको महिमा र यसको ऐतिहासिक महत्व विदेशीहरूलाई बुझाउन सक्नुपर्छ । यसका लागि राज्यले विशेष कार्यक्रम गर्नुपर्छ ।’
उनले इन्द्रजात्रा विधिपूर्वक र यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै मनाउन सके राज्यको प्रतिष्ठा र सांस्कृतिक पहिचानसमेत बलियो हुने बताए ।
इन्द्रजात्रा काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइए पनि यसको मूल भावना र धार्मिक विश्वास अन्य स्थानमा समेत आ–आफ्नै शैलीमा अभिव्यक्त हुने उनले बताए । उनका अनुसार विभिन्न पर्वमा देवीदेवताका रथयात्रा निकाल्ने परम्परा नेपाली समाजको पुरानो सांस्कृतिक अभ्यास हो । उनले पुर्खाले हजारौँ वर्षदेखि चलाउँदै आएको परम्परालाई नयाँ पुस्ताले संरक्षण र निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हाम्रा पुर्खाहरूले हजारौँ वर्षदेखि चलाउँदै आएका परम्परा हामीले पनि चलाउनुपर्छ । देवताका रथ तान्ने, सार्वजनिक रूपमा नगर परिक्रमा गराउने परम्पराले सामूहिक सहभागिता बढाउँछ र संस्कृतिप्रतिको सम्मान पनि अभिव्यक्त गर्छ ।’
इन्द्रजात्रा धार्मिक आस्था र पूजा–आराधनामा मात्रै सीमित पर्व नभई इतिहास, संस्कृति, सामाजिक सहभागिता, वर्षा–सहकाल, कुमारी परम्परा र राज्य शक्तिको प्रतीकसँग जोडिएको बहुआयामिक सांस्कृतिक पर्वका रूपमा स्थापित भएको देखिन्छ ।
For more: Indra Jatra World’s Oldest Living Festivals

