१७ भदौ, काठमाडौं।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी क्षेत्रको नियमन, सुपरिवेक्षण र नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) सम्बन्धी सहकार्य गर्ने सहमति भएको छ।
काठमाडौंमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहकारी ऐन २०७४ अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गर्ने व्यवस्था कार्यान्वयनका बारेमा छलफल गरिएको थियो।
कार्यक्रममा सहकारी क्षेत्रको अनुगमन, नियमन, लेखापरीक्षण, सूचना आदानप्रदान तथा प्राविधिक सहयोगका विषयमा गहन छलफल भएको थियो।
छलफलमा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद् सदस्य, कार्यकारी निर्देशकलगायतको उपस्थिति थियो। प्राधिकरणतर्फबाट अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सिए महेश खनाल तथा कार्यकारी निर्देशक शेषनारायण पौडेल सहभागी भएका थिए।
प्राधिकरणका अध्यक्ष डा. शर्माले २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी प्राधिकरणको क्षेत्राधिकारभित्र पर्ने भएकाले सदस्यहरूको बचतको सुरक्षा, प्रभावकारी अनुगमन र सुपरिवेक्षण अपरिहार्य रहेको उल्लेख गर्दै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सहयोग आवश्यक रहेको बताए।
त्यस्तै, सहकारी क्षेत्रमै नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) लागू गर्नुपर्ने, प्रुडेन्सियल अडिटका लागि रोस्टर तयार गर्ने, सो सम्बन्धी शुल्क निर्धारण गर्ने लगायत क्षेत्रमा सहकार्य गर्न आग्रह गरिएको थियो।
आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले दुवै नियामकीय निकायबीच समझदारी गरी जनशक्ति विकास, ज्ञान तथा सीप आदानप्रदान, प्राविधिक सहयोगलगायत विषयमा सहकार्य गर्न सकिने बताएका थिए। साथै, सहकारी ऐनका केही प्रावधान संशोधन आवश्यक रहेको र सहकारी नियमन गर्ने थुप्रै निकाय भए पनि प्रभावकारी सुपरिवेक्षण नहुँदा समस्या देखिएको धारणा राखे।
कार्यक्रमको निष्कर्षमा दुवै निकायले निकट भविष्यमा समझदारीपत्र (MoU) गर्ने, सहकारी संस्थाको नियामकीय लेखापरीक्षणका लागि आइक्यानका सदस्यलाई रोस्टरमा समावेश गर्ने तथा आपसी सहयोग र समन्वयका लागि विशेष संयन्त्र वा स्टेरिङ कमिटी गठन गर्ने सहमति जनाएका छन्।
For More:-ICAN Cooperative Regulatory Authority