स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पतालका कर्मचारीका लागि नयाँ आचारसंहिता
१९ असार, काठमाडौं।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेसागत आचरण सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन ‘आचारसंहिता, २०८३’ लागू गरेको छ ।
मन्त्रालयले जारी गरेको आचारसंहितामा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवारीहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
आचारसंहिताअनुसार कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निष्पक्ष, इमानदार र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्नेछ। कुनै पनि राजनीतिक विचार, आस्था वा दबाबबाट प्रभावित नभई पूर्ण रूपमा राजनीतिक तटस्थता कायम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
आचारसंहिताले कर्मचारीको पेसागत आचरण, सेवाग्राहीप्रतिको व्यवहार, राजनीतिक तटस्थता तथा सामाजिक सञ्जालको प्रयोगलाई समेत व्यवस्थित गरेको छ। आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकताका साथ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, सेवाग्राहीको अधिकारको सम्मान र संरक्षण गर्नुपर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका तथा अशक्त व्यक्तिप्रति विशेष सहयोगी व्यवहार गर्नुपर्ने उल्लेख छ। जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्न पनि कर्मचारीलाई निर्देशन दिइएको छ।
आचारसंहितामा बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरण गोप्य राख्नुपर्ने, उपचार, सेवा शुल्क र सेवा प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्ने तथा अनावश्यक रूपमा बिरामीलाई प्रतीक्षा गराउने वा विभिन्न कक्षमा धाउन बाध्य पार्ने कार्य नगर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पत्ति, औषधि, उपकरण र अन्य स्रोत–साधनको संरक्षण गर्नुपर्ने, संक्रमण नियन्त्रण, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनसम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौनजन्य दुर्व्यवहार, हिंसा वा उत्पीडन गर्न नहुने उल्लेख छ ।
आचारसंहिताले विपद्, महामारी तथा अन्य आकस्मिक अवस्थाका बेला उच्च जिम्मेवारी, समर्पण र व्यावसायिकता प्रदर्शन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने व्यवस्था पनि गरेको छ ।
सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोगसम्बन्धी व्यवस्थाअन्तर्गत कर्मचारीले आफ्नो पदीय हैसियतका आधारमा प्राप्त गोप्य वा कार्यालयसम्बन्धी सूचना कानुनले अनुमति दिएको अवस्थाबाहेक सार्वजनिक गर्न नपाउने उल्लेख गरिएको छ ।
स्वास्थ्य संस्थामा अनुशासित, नैतिक, पारदर्शी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै नागरिकको पहुँच र विश्वास अभिवृद्धि गर्न मन्त्रालयले नयाँ आचारसंहितामार्फत अस्पतालका कर्मचारीहरूलाई पेसागत दक्षता, इमानदारिता, निष्पक्षता र उत्तरदायित्वका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
For More: Hospital Staff Code Conduct


