सरकारी अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
३१ वैशाख, काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा र भौतिक संरचनाको तत्काल संरक्षण गर्न कडा निर्देशन दिएको छ।
बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताल लगायत २४ वटा प्रमुख स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएको हो।
पछिल्लो समय सरकारी अस्पतालका बहुमूल्य जग्गाहरू व्यक्ति वा संस्थाले मिच्ने क्रम बढेको गुनासो आएपछि मन्त्रालयले सम्पत्ति सुरक्षा सुनिश्चित गर्न यो कदम चालेको हो।
मन्त्रालयले सबै अस्पतालहरूलाई आफ्नो जग्गाको साँध-सिमाना स्वीकृत नक्साअनुसार यकिन गर्न र कुनै अनधिकृत संरचना वा अतिक्रमण भए-नभएको स्पष्ट अभिलेख तयार गरी मन्त्रालयलाई जानकारी गराउन भनेको छ।
यदि अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना दिन र सो अवधिमा पनि अतिक्रमण नहटाए जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी बल प्रयोग गरेरै भए पनि जग्गा फिर्ता लिन निर्देशन दिइएको छ।
यसैगरी, भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली वा फिर्ता गरिएका जग्गामा तत्काल कम्पाउण्ड वाल (घेराबार) लगाउन र आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि मन्त्रालयले स्पष्ट पारेको छ।
अस्पतालहरूलाई जग्गासम्बन्धी लालपुर्जा, स्रेस्ता तथा अभिलेख अद्यावधिक गरी मालपोत र नापी कार्यालयबाट प्रमाणित विवरण सुरक्षित राख्न समेत भनिएको छ। मन्त्रालयको यो निर्देशनले सार्वजनिक सम्पत्तिको संरक्षण हुनुका साथै स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
For More:-Hospital land encroachment removal



