माघमा हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ हुने, १०० बढी स्टल रहने
१ असोज, काठमाडौं।
नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमता विस्तार, आन्तरिक खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको छ ।
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य अघि सारेको पृष्ठभूमिमा ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी र प्रविधिलाई एउटै मञ्चमा जोड्न आगामी २०८३ माघ ३, ४ र ५ गते काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुँदैछ । तर, जलविद्युत् तथा समग्र स्वच्छ ऊर्जा क्षेत्रमा यो बृहत एक्स्पो किन अपरिहार्य बन्यो भन्ने विषयले अहिले विशेष चासो पाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो एक्स्पो अघिल्ला चार संस्करणहरूको निरन्तरताका रूपमा पाँचौं संस्करण हो ।
इप्पानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार नेपालको ऊर्जा क्षेत्रमा तीव्र उत्पादन विस्तार भइरहेको र राष्ट्रिय लक्ष्य हासिल गर्न लगानी तथा बजारको खाँचो परेकाले यो एक्स्पो अनिवार्य बनेको हो ।
अध्यक्ष डाँगीले भने, ‘सरकारले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३०,००० मेगावाट पुर्याउने लक्ष्य अघि सारेको छ । यो लक्ष्य हासिल गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक छ । त्यसैले यो राष्ट्रिय लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा एक्स्पोलाई अघि बढाउन लागिएको हो।’
ऊर्जा क्षेत्रको तीव्र विस्तारसँगै जलवायु परिवर्तन र प्राकृतिक विपद्को गम्भीर धक्कालाई सम्बोधन गर्न सुरक्षित पूर्वाधार निर्माणको बहस चलाउनु पनि एक्स्पोको अर्को मुख्य कारण रहेको डाँगी बताउँछन् ।
जलवायु जोखिमबारे उनले भने, ‘इलाम, संखुवासभा, लमजुङका बाढी तथा पहिरो हुँदै भर्खरको भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको महाप्रलयसम्मलाई विश्लेषण गरी सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । यसलाई केन्द्रमा राखेर एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे बहस तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको हो ।’
यो एक्स्पोले जलविद्युतमा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ब्याट्री तथा ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र इन्टरनेट अफ थिङ्स (आईओटी) जस्ता बहुआयामिक प्रविधिलाई समेटेर एकै ठाउँमा एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्ने । ।
प्रदर्शनीमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत मुलुकका ऊर्जा उत्पादक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, प्रविधि प्रदायक, उपकरण निर्माता, परामर्शदाता, नीतिनिर्माता र विज्ञहरूको सहभागिता रहनेछ ।
एक्स्पो अवधिभर बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, विद्यार्थी तथा नवप्रवर्तकहरूको प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी र्याली तथा गाला नेटवर्किङ डिनरजस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।
१०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको उक्त एक्स्पोका लागि स्टल बुकिङ तथा सहभागिता खुला गरिएको आयोजकले जनाएको छ ।
For More: Himalayan Green Energy Expo

