स्वास्थ्य सेवा सुधारका लागि ६ प्रतिष्ठान र १९ सङ्घीय अस्पतालसँग कार्यसम्पादन सम्झौता
१२ कात्तिक, काठमाडौं।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता र बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्।
बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताइन्।
मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी हुन्।
सम्झौताअनुसार अस्पतालमा सरसफाइ र स्वच्छता कायम गर्ने, बिरामीलाई आवश्यकताअनुसार समयमै शय्या उपलब्ध गराउने तथा उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउने विषयलाई प्राथमिकता दिइनेछ। साथै स्वास्थ्यकर्मीले बिरामी र सेवाग्राहीसँग गर्ने व्यवहारलाई सेवामैत्री र जिम्मेवार बनाउनुपर्नेमा मन्त्री मेहताले जोड दिएकी छन्।
त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्यलाई थप स्पष्ट गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै मन्त्रालयका सचिव डा. विकास देवकोटाले समेत १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
For More: Health Ministry Performance Agreement

