स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य: कसले र कसरी गर्ने विवरण अद्यावधिक ?
१८ असोज, काठमाडौं।
स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले महत्त्वपूर्ण डिजिटल सुधारसम्बन्धी निर्णयहरू सार्वजनिक गरेको छ।
बोर्डको बैठकले गरेको निर्णयअनुसार आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित गर्न, दोहोरो आबद्धता नियन्त्रण गर्न, केवाईसी (KYC) अपडेटलाई प्रभावकारी बनाउन तथा दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारले ‘एचआईबी ई-पोर्टल’ (HIB e-Portal) मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।
सेवा खरिद र भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत-प्रभावकारी तथा दिगो बनाउन एक रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि भएको छ, जसले सेवाप्रदायक स्वास्थ्य संस्थाको छनोट, वर्गीकरण र भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेस गर्नेछ।
साथै, सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ईएमआर (EMR) प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख र दाबी विवरणलाई प्रचलित कानुन तथा मापदण्डबमोजिम मान्यता दिइने भएको छ, जसले गर्दा हस्तलिखित प्रिस्क्रिप्शन, म्यानुअल दाबी र भुक्तानी ढिलाइको समस्या क्रमशः घट्नेछ र भविष्यमा यसलाई कृत्रिम बौद्धिकतामा आधारित दाबी समीक्षा प्रणालीमा समेत प्रयोग गरिनेछ।
यसका साथै, स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन पहिलो चरणमा २ हजार १८९ वटा कस्टमाइज्ड आईसीडी-११ कोड (Customized ICD-11 Code) आइएमएस (IMIS) मा प्रयोग गर्ने निर्णयसमेत गरिएको छ, जसले डायग्नोसिस अभिलेखिकरणमा एकरूपता ल्याउनेछ। समग्रमा, स्वास्थ्य बीमा अब पूर्ण रूपमा डिजिटल पहिचान, डिजिटल दाबी र रणनीतिक खरिद प्रणालीतर्फ अगाडि बढेको बोर्ड सचिवालयले जनाएको छ।
For More: Health Insurance National ID


