ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सम्झौता
२२ साउन, काठमाडौं।
हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्।
यस व्यवस्थाले विशेषगरी आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नागरिकलाई राहत पुर्याउनुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा सहज रूपमा प्राप्त गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस सहकार्यले नगरपालिकास्तरमा स्वास्थ्य सेवाको सुदृढीकरण, जनस्वास्थ्य प्रवर्द्धन, नियमित स्वास्थ्य परीक्षणको संस्कृति विकास तथा दीर्घ रोगहरूको समयमै पहिचान र प्रारम्भिक उपचारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय र किफायती विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रत्येक नागरिकले सुरक्षित तथा सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्नुका साथै नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान र रोकथाममार्फत स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन अस्पताल सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे।
अस्पतालले आगामी दिनमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र समुदायसँगको सहकार्य विस्तार गर्दै नागरिकमैत्री, गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।
For More: Hams Hospital Health Agreement

