नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य
३२ असार, काठमाडौं।
हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिल (Veel) बीच संस्थागत सहकार्य भएको छ। नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो।
यस सहकार्यसँगै भिल प्लेटफर्ममा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा हाम्रो पेमार्फत प्राप्त गर्न सक्नेछन्।
यसले क्रिएटरहरूलाई भुक्तानी प्राप्त गर्ने क्रममा देखिने अनावश्यक झन्झट, लामो प्रक्रिया र प्राविधिक कठिनाइ कम गर्दै सरल डिजिटल अनुभव प्रदान गर्नेछ। नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ।
तर धेरै क्रिएटरका लागि आफ्नो कामको भुक्तानी समयमै, सुरक्षित र भरपर्दो रूपमा प्राप्त गर्नु अझै चुनौतीपूर्ण छ। हाम्रो पे र भिलबीचको संस्थागत सहकार्यले यही चुनौतीलाई सम्बोधन गर्दै नेपाली क्रिएटरहरूलाई आफ्नो काम र आम्दानी थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्य राखेको छ।
यस सहकार्यका विषयमा हाम्रो पात्रोकी अपरेसन्स डाइरेक्टर सुदिना गौतमले भने: “नेपालमा क्रिएटर इकोनोमी तीव्र रूपमा विस्तार भइरहेको छ। आफ्नो प्रतिभा, सिर्जनशीलता र मेहनतबाट आम्दानी गरिरहेका नेपाली क्रिएटरहरूलाई सुरक्षित, छिटो र सहज भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि महत्त्वपूर्ण छ। भिलसँगको यो संस्थागत सहकार्यले क्रिएटरहरूलाई आफ्नो कमाइ प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुका साथै नेपालको डिजिटल व्यवसाय र क्रिएटर इकोनोमीलाई थप व्यवस्थित, समावेशी र पहुँचयोग्य बनाउन सहयोग गर्नेछ।”
हाम्रो पेको बारेमा
हाम्रो पे, नेपालको लोकप्रिय सुपर एप हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हो। यसले रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल भुक्तानी तथा विभिन्न डिजिटल वित्तीय सेवाहरू सरल, सुरक्षित र भरपर्दो रूपमा उपलब्ध गराउँदै आएको छ। प्रविधिमार्फत दैनिक भुक्तानी अनुभवलाई सहज बनाउँदै व्यक्ति, व्यवसाय र डिजिटल समुदायलाई एउटै वित्तीय सञ्जालमा जोड्नु हाम्रो पेको उद्देश्य हो।
भिलको बारेमा
भिल एक ग्लोबल एआई-सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म हो। यसले AI प्रविधिमार्फत क्रिएटर खोजी, क्याम्पेन व्यवस्थापन, कन्टेन्ट वर्कफ्लो, च्याट, एनालिटिक्स र पेमेन्टलगायतका सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार हालसम्म विश्वका १२० भन्दा बढी देशका ४५० भन्दा धेरै ब्रान्ड र ५ लाख ५० हजारभन्दा बढी भेरिफाइड क्रिएटरहरू भिल प्लेटफर्ममा आबद्ध छन्।
For More: Hamro Pay Creator Payments


