ग्राण्डी अस्पतालमा सचेतना कार्यक्रम गर्दै मनाइयो विश्व ब्रेन ट्युमर दिवस
२५ जेठ, काठमाडौं।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्व ‘ब्रेन ट्युमर’ दिवसका अवसरमा सचेततनामुलक कार्यक्रम आयोजना गरि मनाइएको छ ।
‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ सोमबार ग्राण्डीमा यसबारे जनचेतनामुलक कार्यक्रमका साथ मनाइएको हो ।
कार्यक्रममा बोल्दै ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ब्रेन ट्युमरको समयमै पहिचान र सचेतना आवश्यक रहेको बताए । उनले ब्रेन ट्युमरको लक्षण शुक्ष्म हुने भएकाले समुदायमा व्यापक जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे ।
डा विजुक्छेले मस्तिष्क ट्युमरका लक्षण सधैँ गम्भीर नभई सामान्य जस्तो देखिने बताए । “कहिलेकाहीँ बिरामी विना कारण हाँसिरहनु वा हिँडडुलमा सामान्य कठिनाई हुनु पनि मस्तिष्क ट्युमरको संकेत हुनसक्छ, मस्तिष्क शरीरको कमान्ड सेन्टर भएकाले यसमा देखिने साना परिवर्तनलाई पनि गम्भीरताका साथ लिनुपर्छ,”– डा विजुक्छेले भने ।
उनले विगतका दिनमा ब्रेन ट्युमर पत्ता लगाएर उपचार गर्न निकै कठिन हुने गरेपनि अहिले प्रविधि र चिकित्सा क्षेत्रमा भएको विकासले आशा जगाएको बताए । शल्यक्रिया, मेडिकल अंकोलोजी र रेडिएसन प्रविधिको विकासले बिरामीको आयु लम्बिएको उनको भनाई छ । डा विजुक्छेले मस्तिष्कको उपचार अत्यन्तै जटिल र संवेदनशील हुने भएकाले यसमा चिकित्सकको ठूलो भूमिका रहने उल्लेख गरे ।
ग्राण्डी अस्पतालका वरिष्ठ न्यूरोलोजी कन्सल्टेन्ट डा राजु पौडेलले निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका भएको बताए । उनले पछिल्लो समय नेपालमा ब्रेन ट्युमरका विरामीको संख्या बढ्दै गएको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने उल्लेख गरे ।
काठमाडौँ क्यान्सर सेन्टरका रेडियसन अंकोलोजिष्ट डा आविस अधिकारीले ब्रेन ट्युमरको उपचारका लागि सर्जिकल अंकोलोजिस्ट, मेडिकल अंकोलोजिस्ट र रेडिएसन अंकोलोजिस्टको महत्वपूर्ण भूमिका रहेको बताए । ब्रेन ट्युमरलाई समयमै पहिचान गर्न सकिए विरामीको आयु लम्ब्याउन सकिने उनको भनाई थियो ।
मेडिकल अंकोलोजिष्ट डा राजीवकुमार देव, ग्राण्डी अस्पतालका कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट डा रुपेन्द्रबहादुर अधिकारी लगायतले मष्तिस्कको कुन भागमा ट्युमर छ, त्यसैका आधारमा लक्षणहरू पनि फरक हुने गरेको बताए ।
उनीहरूका अनुसार शल्यक्रियाको पहिलो उद्देश्य ट्युमर निकाल्दा बिरामीको अन्य कार्यक्षमतामा थप क्षति नपुर्याउनु हो। पहिले ठूलो घाउ बनाएर गरिने शल्यक्रियाको सट्टा अहिले स–साना प्वाल वा नाकको माध्यमबाट गरिने ‘इन्डोस्कोपिक’ विधि प्रयोगमा आएको उनीहरूले बताए।
For More:-Grande Hospital Brain Tumor



