अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
६ वैशाख, काठमाण्डौ।
सरकारले अबदेखि सरकारी कर्मचारीहरूको तलबभत्ता वितरण प्रणालीमा परिवर्तन गर्दै अबदेखि महिनाको दुई पटक (अर्धमासिक रूपमा) पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले गत वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयानुसार यो नयाँ व्यवस्था कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।
हालसम्म महिना समाप्त भएपछि एकैपटक मासिक तलब दिने परम्परा रहेकोमा, अब कर्मचारीहरूले हरेक १५–१५ दिनमा आफ्नो पारिश्रमिक प्राप्त गर्नेछन् ।
मन्त्रालयका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा कर्मचारीहरूको आर्थिक सहजता, व्यक्तिगत खर्च व्यवस्थापनमा सरलता र बजारमा मुद्रा प्रवाह बढाएर अर्थतन्त्रलाई थप चलायमान बनाउने उद्देश्यले यो कदम चालिएको उल्लेख छ ।
मन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई पत्र पठाउँदै अर्धमासिक रूपमा तलब वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।
For More:-Government Employees Salary 15days



