आज पौष १२ गते ‘जिबिजि बिजफेस्ट आयोजना हुँदै, १०,००० अवलोकनकर्ताको अपेक्षा

Google Business Group Kathmandu Bizfest 2019
Share It On:

२०७६ पौष ११ गते, काठमाडौं
नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले भोलि पौष १२ गते शनिबार आयोजना गर्न लागेको स्टार्टअप प्रदर्शनी जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २०० भन्दा धेरै स्टार्टअपहरुको प्रदर्शनी रहने भएको छ । जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न लागिएको कार्यक्रमको यो दोस्रो संस्करण हो ।
नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा स्टार्टअप प्रदर्शनीसँगै विशेष वर्कशप कार्यशालाहरु पनि संचालन गरिनेछ जहाँ नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् ।
कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवाल भन्छन्,
“जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा यस कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न र देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु हामीले यत्रतत्र देख्न सक्छौँ । यद्यपि, धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा छैन । अनि, स्टार्टअपहरुसँग महँगो प्रदर्शनी हलमा गएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोतसाधन पनि हुँदैन । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो । साथै, यस कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउनेछन् जुन उनिहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ ।”
मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्दै छन् । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दस हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणको कार्यक्रममा देशका विभिन्न ठाउँबाट उदाउँदै गरेका १२०ंंंं स्टार्टअप र ५ हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको थियो ।
साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।
यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ । धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको थियो । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।
कार्यक्रमको विवरण:
कार्यक्रम: जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९
मिति: शनिबार, पौष १२, २०७६
समय: बिहान १० बजे देखि
स्थान: डिएभी स्कुल परीसर, जावलाखेल, ललितपुर
प्रवेश: निःशुल्क


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *