परोपकार प्रसूति गृहमा जर्मन उच्चस्तरीय टोलीको निरीक्षण: मातृ स्वास्थ्यको इकोसिस्टमबारे ब्रिफिङ
५ असार, काठमाडौं ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) का उच्चस्तरीय प्रतिनिधिमण्डलले बिहीबार विशेष स्थलगत भ्रमण र निरीक्षण सम्पन्न गरेको छ ।
द्विपक्षीय साझेदारी सुदृढीकरणका लागि भएको उक्त भ्रमण टोलीमा जर्मन विकास नियोगहरू KfW, GIZ तथा PTB का वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
भ्रमणको प्रारम्भमा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जर्मन प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपालको समग्र मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको वर्तमान अवस्था (Maternal Healthcare Ecosystem), यस क्षेत्रका चुनौती र आगामी कार्यदिशाबारे विस्तृत ब्रिफिङ गर्नुभएको थियो ।
निर्देशक अधिकारीले प्रसूति गृहले देशकै अग्रणी केन्द्रीय अस्पतालका रूपमा सुरक्षित मातृत्व सुनिश्चित गर्न खेलिरहेको भूमिका र त्यसमा जर्मन सहयोगको योगदानबारे प्रकाश पार्नुभयो ।
त्यसपछि टोलीले अस्पतालद्वारा सञ्चालित विभिन्न अत्याधुनिक सेवा तथा भौतिक पूर्वाधारहरूको प्रत्यक्ष अवलोकन गरेको थियो । प्रतिनिधिमण्डलले आकस्मिक सेवा, जनरल वार्ड, प्रयोगशाला, हिंसा प्रभावित महिलाहरूको उपचारका लागि स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) र समय नपुगी जन्मेका शिशुहरूका लागि सञ्चालित नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक’ (Human Milk Bank) को निरीक्षण गरेको अस्पताल प्रशासनले जनाएको छ ।
नेपाल र जर्मनीबीच विगत लामो समयदेखि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरणका लागि वित्तीय, प्राविधिक तथा संस्थागत सहयोग आदानप्रदान हुँदै आएको छ ।
यस भ्रमणले दुई देशबीचको दशकौँ लामो पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र जर्मन विकास सहयोग (German Development Cooperation) अन्तर्गत चलिरहेका परियोजनाहरूमा निरन्तर सहकार्य गर्न अस्पताल प्रतिबद्ध रहेको निर्देशक डा. अधिकारीले बताउनुभयो ।
For more: German Delegation Visits Paropakar Maternity


