२२ भदौ, काठमाडौं।
जेन जि पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) ले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनमा विद्यार्थी पोशाक, परिचयपत्र, कम्तीमा एउटा किताब र ए–फोर साइजको खाली कागजसहित सहभागी हुन आह्वान गरिएको छ। साथै, बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवन अगाडि पनि प्रदर्शन हुने अभियानमा उल्लेख छ।
यो अभियान कुनै राजनीतिक पार्टीको औपचारिक आयोजनामा नभएर स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिएको हो। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई समर्थन गर्ने संकेत गरेको छ।
जेन जि पुस्ताले ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन, बेरोजगारीजस्ता विषयमा आवाज उठाउँदै प्रदर्शन गर्न लागेको जनाइएको छ। उनीहरूले सुशासन र रोजगारी सिर्जनाको वातावरण माग गरेका छन्।
हाल सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) बन्द रहे पनि टिकटक र भाइबर सञ्चालनमा छन्। टिकटकमा प्रदर्शनसम्बन्धी ह्यासट्याग र भिडियोहरू ट्रेण्डमा रहेका छन्। नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि व्यापक आलोचना भइरहेको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रबक्ता मुक्तिराम रिजालले भोलिको प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा गरिएको बताए। उनले सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपालमा स्वतःस्फूर्त रूपमा हुने यस्ता खालका प्रदर्शन विरलै हुने गरेका छन्। यसपटकको प्रदर्शनमा नयाँ पुस्ताको सक्रिय सहभागिता रहने प्रष्ट संकेत मिलिरहेको छ।
For More:-Gen Z Protest Against Corruption