‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९’ मा २१० स्टार्टअपले गरे प्रदर्शनी

Agriculture Drone exhibition
Agriculture Drone exhibition

१३ पौष २०७६, काठमाडौं ।

नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार भन्दा धेरै युवाहरुले उक्त मेला अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया गरेका थिए ।

जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एक मात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्ष देखि गर्न थालिएकोे कार्यक्रमको यो दोस्रो संस्करण हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गरिएकोे यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरू लाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको थियो ।

कृषिमा उपयोगी हुने ड्रोन बनाउने कम्पनीहरु, मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ, अन्लाईन सपिङ, अन्लाईन शिक्षा प्रदान गर्ने, अन्लाईन स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि आधुनिक कृषिमा संलग्न स्टार्टअप कम्पनीहरु उक्त मेलामा सहभागि थिए ।

मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरु सँग अन्तरकृया गर्ने र उनिहरुबाट सिक्ने अवसर प्रदान गरेको थियो । मेलामा देखिएको दृश्यले नेपाली युवाहरुमा स्टार्टअप प्रतिको रुची कति रहेछ र आँफैले नव उद्यम खोल्न कति इच्छुक रहेछन् भन्ने दर्शाएको थियो ।

कार्यक्रममा विशेषज्ञहरूले डिजिटल मार्के्टिङ, क्लाउड कम्प्युटिङ, ग्रोथ ह्याकिङ जस्ता विभिन्न नयाँ नयाँ प्रविधी सम्बन्धी प्रस्तुति पनि दिएका थिए जुन स्टार्टअपहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्त्वपूर्ण हुनेछ । उल्लेखनिय संख्यामा स्टार्टअपहरु तथा स्टार्टअप गर्न इच्छुक युवाको उपस्थिति देखेर उत्साहित मेलाका संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले भने, “जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु हामीले यत्रतत्र देख्न सक्छौँ । गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो । साथै, यस कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउनेछन् जुन उनिहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ ।”

धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको थियो । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएकोे थियो । गुगल बिजनेस ग्रुपले नेपालमा यस प्रकारको कार्यक्रम वार्षिक रुपमा आयोजना गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here