गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र: गुणस्तरीय सेवा र सूचना सुरक्षामा उत्कृष्टता
९ वैशाख, काठमाडौं।
गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा र सूचना सुरक्षामा उत्कृष्टता कायम गरेबापत दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र प्राप्त गरेको छ।
बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि ISO 9001:2015 तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि ISO 27001:2022 प्रमाणपत्र हासिल गरेको हो।यससँगै गरिमा विकास बैंक एकैसाथ दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने नेपालका सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ।
लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच विश्वव्यापी प्रमाणीकरण संस्था ‘इन्टरसर्ट’ (Intercert) का लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरेका थिए।
प्रमाणपत्र ग्रहण गर्दै बैंकका सीईओ माधव प्रसाद उपाध्यायले गरिमा विकास बैंक गुणस्तरीय सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षालाई थप प्रभावकारी र सुदृढ बनाउँदै लैजान प्रतिबद्ध रहेको बताए। उनले यी प्रमाणपत्रहरूले बैंकको सेवा गुणस्तरमा सुधार ल्याउनुका साथै ग्राहकहरूको विश्वास अभिवृद्धि गर्न र सूचना सुरक्षामा थप मजबुती ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
गरिमा विकास बैंकले हाल देशभर रहेका १२६ शाखा कार्यालयहरूमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
विशेषगरी प्रविधिको बढ्दो प्रयोगसँगै सूचना सुरक्षा (Information Security) मा प्राप्त यो अन्तर्राष्ट्रिय मान्यतालाई बैंकको ठूलो उपलब्धिको रूपमा लिइएको छ।
For More:-Garima Bank ISO Certification


