२१ साउन, काठमाडौं।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा लक्ष्मी ई–मोबिलिटीले नयाँ ईभी ब्रान्ड फरथिङको फ्राइडे ईभी सार्वजनिक गरेको छ। यो गाडी दुई भेरिएन्ट, लक्जरी र एक्सक्लुसिभ, मा उपलब्ध छ, जसको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य पहिले घोषणा गरिएको भन्सार मूल्यभन्दा कम हो।
फरथिङ फ्राइडे ईभीमा ६४.४ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले सिंगल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। यसमा ११ किलोवाटको अन-बोर्ड चार्जर र १२० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्दछ।
यस एसयुभीमा भेन्टिलेटेड, हीटेड, मसाज र मेमोरी सिट लगायतका लक्जरी विशेषताहरू उपलब्ध छन्। साथै, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानोरामिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकर सहितको म्युजिक सिस्टम जस्ता फिचरहरू पनि समावेश छन्।
सुरक्षाका लागि, फरथिङ फ्राइडेमा एडीएएस फिचर सहित ६ वटा एयरब्याग, एबीएस, ईबीडी, सीबीडी, एचबीए, ईबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, ईएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, फ्रन्ट/रियर पार्किङ राडार, अडाप्टिभ क्रुज कन्ट्रोल र अपहिल/डाउनहिल असिस्ट जस्ता सुविधाहरू छन्।