एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

NEPSE and NCHL

 २५ चैत, काठमाण्डौं।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भएको छ ।

बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकालज्यू र श्री संजीव श्रेष्ठज्यू बीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।

उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय रामु पौडेलज्यू, विश्वम्भर न्यौपानेज्यू र सम्पूर्ण सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकारीज्यूहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकिकृत कार्य गर्नेछ ।

बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्यगरी आएका हुन् ।

नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ ।

त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफल मूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिले उल्लेखिय भूमिका खेल्ने छ ।

प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।

पुस ८, २०६५ मा स्थापित एनसीएचएलले #NCHL-ECC, #NCHL-IPS, #RPS, #connectIPS, #CORPORATEPAY, #connectRTGS, National Payments Interface (#NPI) र NEPALPAY QR जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र #nepalpay डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र १०० भन्दा बढि अन्य संस्था / निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

फागुन १८, २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने कार्य गर्दै आएको छ । नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि #POS मार्फत सेवा र इकमर्स कारोबारको सेवाहरु उपलब्ध गराउँदै आएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here