विद्युतीय सवारीमा बढी भाडा असुल्न नपाइने, विद्यार्थीलाई ४५% छुट अनिवार्य
९ वैशाख, काठमाडौं।
यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा असुलेमा कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै हालै गरिएको भाडा वृद्धि केवल डिजेल इन्जिनबाट सञ्चालन हुने सवारी साधनका लागि मात्र लागू भएको स्पष्ट पारेको हो।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि स्वचालित प्रणाली अनुसार चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि यो व्यवस्था विद्युतीय सवारीमा लागू नहुने विभागले जनाएको छ। तर पछिल्लो समय केही विद्युतीय सवारीहरूले पनि बढेको भाडा असुल्ने र यात्रुलाई टिकट नदिने गुनासो बढेपछि विभागले कडाइ गर्ने निर्णय गरेको हो।
विभागका अनुसार विद्युतीय सवारीका लागि साविककै भाडादर कायम रहनेछ र यात्रुबाट भाडा लिएपछि अनिवार्य रूपमा टिकट दिनुपर्ने व्यवस्था पालना गर्नुपर्नेछ। यदि कुनै सवारीले तोकिएकोभन्दा बढी भाडा लिएको वा नियम उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार कारबाही गरिनेछ।
विभागले यात्रुहरूलाई पनि सचेत रहन र नियमविपरीत भाडा असुलिएमा उजुरी गर्न आग्रह गरेको छ।
यसैबीच, विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विभागले विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न ताकेता गरेको हो।
इन्धनको मूल्य बढेसँगै कतिपय सवारी साधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढिरहेको छ। हेलो सरकार तथा गुनासो पेटिकामा विद्यार्थीहरूले तोकिएको छुट नपाएको भन्दै उजुरी दिँदै आएका छन्। चालक तथा सहचालकले परिचयपत्र देखाउँदा पनि छुट दिन अस्वीकार गर्ने तथा दुर्व्यवहार गर्ने घटनापछि विभागले पुनः ध्यानाकर्षण गराएको हो।
विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सम्झौता स्मरण गराउँदै उक्त व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। यदि कुनै सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरेमा कानुनी कारबाही गरिने विभागले जनाएको छ।
For More:-Electric Vehicle Student Discount



