वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्ने सरोकारवालाहरूको जोड

Enhancing Remittance Digitization
Share It On:

५ असार, काठमाडौं।

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्ने सरोकारवालाहरूको जोड रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिटेन्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिटेन्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाण्डौंमा सम्पन्न कार्यशालामा कार्यवाहक गभर्नर डा। निलम ढुङ्गाना तिम्सिनाले रेमिटेन्स आप्रवाह बढिरहेको र यसले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने र त्यसका लागि राष्ट्र बैकंले नेपाल मुद्रा विप्रेषक सङ्घसँग मिलेर सहकार्य गर्न तयार रहेको पनि कार्यवाहक गभर्नर ढुङ्गाना उल्लेख गरे ।

यसै गरी राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले रेमिटेन्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमतिपत्र समयमै नवीकरण गराएर कारोबार नियमिततापूर्वक गर्न आग्रह गरे । रेमिटेन्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको पनि कार्यकारी निर्देशक घिमिरेले उल्लेख गरे।

राष्ट्र बैंक, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिटेन्स कम्पनीहरूलाई सुझाव दिए। राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले पनि रेमिटेन्सको समसामयिक विषयमा रहेर आफ्ना भनाइहरू राखे।

सो अवसरमा नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिटेन्स कम्पनी र रेमिटेन्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिटेन्समा वृद्धि हुनगई विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिटेन्स कम्पनी र रेमिटेन्सको काम गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि भई राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले यसमा सबैको ध्यान जान आवश्यक रहेको बताए।

उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले पनि रेमिटेन्स सेवामा देखिएका समसामयिक विषयमा आ आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिटेन्सको वर्तमान अवस्था र रेमिटेन्स कम्पनी र नियामक निकायबाट गर्नुपर्ने सुधारका विषयमा धारणा व्यक्त गरे।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *