नेपालको हेभी–ड्युटी सेग्मेन्टमा स्याकम्यान X5000e इलेक्ट्रिक ट्रक सार्वजनिक
१५ असोज, काठमाडौं।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र टिपर सार्वजनिक गरेको छ। मूल्य, विशेषता र हेभी–ड्युटी विद्युतीय सवारीसाधनबारे सम्पूर्ण जानकारी लिनुहोस्।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ ।
यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको छ ।
व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको X5000e इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने X5000e इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको छ ।
दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता विशेषता रहेका छन् । यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक परिस्थितिमा सवारीसाधनको प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग पुर्याउने उद्देश्य राखेका छन् ।
सहकार्यबारे बोल्दै शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले भन्नुभयो, “स्याकम्यानसँगको हाम्रो साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौँ ।”
जगदम्बा मोटर्स र स्याकम्यानबीचको सहकार्यबारे बोल्दै सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले भन्नुभयो, “नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार हो ।
शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा हामी खुसी छौँ । यस सहकार्यमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी–ड्युटी समाधानहरू ल्याउने हाम्रो लक्ष्य छ ।”
स्याकम्यान X5000e का दुवै मोडलमा विद्युतीय पावरट्रेन प्रविधिसँगै चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखिएका विभिन्न सुविधाहरू समावेश छन् ।
यी सवारीसाधनमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायत हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीहरू उपलब्ध छन् ।
जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले भन्नुभयो, “स्याकम्यान X5000e हाम्रो व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप हो । नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकताहरूलाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ ।”
स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ भने स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ ।
यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गर्दै नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रका लागि नयाँ विद्युतीय मोबिलिटी समाधानहरू प्रस्तुत गरेको छ ।
जगदम्बा मोटर्सका बारेमा
जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो, जसले नेपालमा व्यावसायिक तथा अटोमोटिभ उत्पादनहरूको वितरण तथा प्रवर्द्धन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको पोर्टफोलियो तथा देशभर विस्तार हुँदै गएको आफ्नो नेटवर्कमार्फत कम्पनीले नेपालभरका ग्राहकलाई भरपर्दो मोबिलिटी तथा यातायात समाधान उपलब्ध गराउनेमा केन्द्रित छ ।
स्याकम्यानका बारेमा
सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) चीनको प्रमुख हेभी–ड्युटी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी हो, जसको ६० वर्षको इतिहास रहेको छ ।
कम्पनीले मुख्यतः सैन्य तथा व्यावसायिक सवारीसाधनमा केन्द्रित रही विश्वभरका विभिन्न प्रयोग तथा बजारका लागि ट्रक तथा यातायातसम्बन्धी समाधानहरू उपलब्ध गराउँदै आएको छ ।
स्याकम्यानले चुनौतीपूर्ण सञ्चालन वातावरणका लागि हेभी–ड्युटी सवारीसाधन प्रविधि, उत्पादन विकास तथा यातायातसम्बन्धी समाधानमा केन्द्रित हुँदै आएको छ ।
For more: Electric Trucks Launched in Nepal


