शेयर बजारमा चुनावी प्रभाव: नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो
६ माघ २०८२, काठमाडौं ।
साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको हो । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो ।
मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतबार ८ अर्ब ४० करोड रुपैयाँमा सीमित रहेको बजार मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ नाघेको छ । यस दिन ३३९ स्टकको १ लाख १५ हजार १८१ पटकको कारोबारमा २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको हो ।
यस दिन गोर्खाज फाइनान्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ५६ रुपैयाँ २० पैसाले बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य करिब ८ प्रतिशतले उकालो लागेको छ ।
यद्यपि, १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य भने यस दिन ४.२३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको ४० करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ ।
लगानी उपसमूह साढे २ प्रतिशतले उकालो लाग्दा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन् ।
For More:-Election impact NEPSE market



