असार २६ देखि भृकुटीमण्डपमा १३ औँ इक्यान शैक्षिक मेला

असार २, काठमाडों ।

 नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले १३ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भइसकेको नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले काठमाडौंको भृकुटीमण्डपमा आगामी असार २६ देखि २९ गते (July 11 – 14) सम्म बृहत् शैक्षिक मेला २०७६ आयोजना गर्न लागेको हो ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।

यस शैक्षिक मेलामा एक लाख भन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको इक्यानले जनाएको छ ।

१३ औँ संस्करणको मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने छ ।

ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ । साथै प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने छ ।

वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस प्रा. लि.को व्यवस्थापनमा आयोजना हुन लागेको याो शैक्षिक मेलाको प्रेजेन्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ । भने, टाइटल स्पाेन्सरमा राइटपाथ करियर काउन्सेलिङ रहेकाे छ ।

इक्यान बृहत शैक्षिक मेला वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुका लागि चाहिने सबै विषयवस्तुहरुमा यथार्थ जानकारी लिने उचित थलोका रुपमा स्थापित हुने विश्वास लिइएको छ ।

यस पटकको मेलामा विगतमा भन्दा केहि नयाँ विशेषताहरु हुने पनि इक्यानले जनाएको छ । करिब ४०० सयको स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क बससेवाको समेत व्यवस्था हुनेछ ।

शैक्षिक परामर्शदाता, विदेशी शैक्षिक संस्था, पार्टनर बैंक, एयरलाइन्स, ट्राभल एण्ड टुरिज्म पार्टनर लगायतको पनि सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेका छन् । सबै सरोकारवालाहरुलाई आफ्नो सहभागीता चाँडै सुनिश्चित गर्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here