२२ भदौ, काठमाडौं।
ञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालभित्र निष्क्रिय गराइएका सामाजिक सञ्जालमा पहुँच पाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आमनागरिकलाई अनुरोध गरेको हो। मन्त्रालयका अनुसार भीपीएन प्रयोग असुरक्षित, अनाधिकृत र जोखिमयुक्त हुने भएकाले यसबाट टाढा रहन आग्रह गरिएको छ।
मन्त्रालयले हालसम्म ‘स्मार्ट आइडिया प्रालि’ (हाम्रो पात्रो) र ‘ग्लोबल डायरी प्रालि’ सूचीकरण भइसकेको जानकारी दिएको छ। त्यस्तै, ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि आवश्यक विवरण माग गरेकामा सो जानकारी उपलब्ध गराइसकिएको मन्त्रालयले स्पष्ट पारेको छ।
प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सूचीकरणका लागि कुनै शुल्क लाग्दैन र प्रक्रिया पूरा गरेपश्चात् तत्काल पुनः सक्रिय गराइनेछ।” मन्त्रालयले यसलाई सामाजिक सञ्जाल नियन्त्रण नभई व्यवस्थित, मर्यादित र जवाफदेही प्रयोगतर्फको कदम भएको बताएको छ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने उद्देश्यले सरकारले सूचीकरण प्रक्रिया अघि बढाएको हो। तोकिएको समयभित्र सम्पर्क नगरेका प्लेटफर्मलाई निष्क्रिय गराइएको र सूचीकरण पूरा गरेमा तत्काल पुनः सक्रिय हुने जानकारी मन्त्रालयले दिएको छ।
साथै, सरकारले नागरिकलाई स्वनियमन मार्फत सुरक्षित डिजिटल वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको छ।
For More:-VPN Ban Advisory Nepal