अब स्थानीय तहले ड्यासबोर्डबाटै नागरिकको स्वास्थ्य बीमा दर्ता र नवीकरण गर्न सक्ने
१८ कात्तिक, काठमाडौं।
नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश सरकार तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा ‘डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा’ आधिकारिक रूपमा सुरु गरेको छ।
मंगलबारदेखि बोर्डको आधिकारिक पोर्टलमार्फत सञ्चालनमा ल्याइएको यस प्रविधिमैत्री सेवाको पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच (ड्यासबोर्ड) प्रदान गरिएको छ।
यस नयाँ अनलाइन प्रणाली लागू भएसँगै अब प्रदेश र स्थानीय तहले आफ्नै ड्यासबोर्ड प्रयोग गरी आफ्ना क्षेत्रका नागरिक तथा लक्षित लाभग्राहीहरूलाई एकैपटक सामूहिक रूपमा स्वास्थ्य बीमामा दर्ता र नवीकरण गराउन सक्नेछन्।
स्थानीय तहहरूले आफ्ना दर्ता सहयोगीमार्फत वा सिधै ड्यासबोर्डबाट योगदान रकम भुक्तानी गरी त्यसको सम्पूर्ण अभिलेख अनलाइनमै सुरक्षित राख्न सक्ने सुविधा पाएका छन्।
यस प्रणालीले बीमा दर्ता प्रक्रियामा लाग्ने समयको उल्लेख्य बचत गर्नुका साथै सम्पूर्ण प्रक्रियालाई सहज, व्यवस्थित र पारदर्शी बनाउन मद्दत पुग्ने बोर्डका प्रवक्ता डा. पवनकुमार साहले जानकारी दिए।
प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना नागरिकहरूलाई सहजै स्वास्थ्य बीमाको दायरामा ल्याउन बोर्डले सम्पूर्ण प्रदेश सरकार तथा स्थानीय तहहरूलाई यस प्रणाली प्रयोग गर्न आह्वान समेत गरेको छ।
For More: Digital Health Insurance Registration


