डाटा सेन्टर सम्बन्धी शिखर सम्मेलन सम्पन्न

काठमाडौं, असार १५

नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर कम्पनीहरुबाट आएका विषयविज्ञहरुले डाटा सेन्टरको परिचय, महत्व, र सुरक्षाका विषयमा आफ्नो अनुसन्धान पत्र पेश गरेका थिए ।

समिटको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार डाटा सुरक्षाको सन्दर्भमा गम्भीर रहेको भनाइ राखे । हरेक क्षेत्रमा सूचना प्रविधिको आवश्यकता बढिरहेको बताउँदै मन्त्री बास्कोटाले डाटाको संकलन, प्रशोधन, भण्डारण,र यसको सुरक्षाका विषयहरु अहिलेको सबैभन्दा संवेदनशील विषय रहेको बताए । ʻनेपाल सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ ।

हामी निजी क्षेत्रसँग (स्वदेशी होस् या विदेशी) मिलेर नेपाललाई छिटोभन्दा छिटो विकसित र प्रविधियुक्त राष्ट्रको रुपमा अगाडि बढाउन चाहन्छौं,ʼ उनले भने ।  सरकारको अहिले सिंहदरबारमा रहेकाे डाटा सेन्टरकाे सामर्थ्य बढाउनुपर्ने आवश्यकता  रहेको पनि  बताए । हेटौंडामा डिस्टार रिकभरी सेन्टेर स्थापना भइसकेको जानकारी दिदै उनले अर्को वर्ष इटहरी र नेपालगञ्जमा सरकारी स्तरबाट डाटा सेन्टर स्थापना गर्ने तयारी भइरहेको बताए ।

सरकारले डाटा सेन्टरको आवश्यकता लाई मध्यनजर  गर्दै यसको कानूनी प्रबन्धको व्यवस्था गर्न लागेको छ । अहिले डाटा, राष्ट्रियता, व्यक्तिको गोपनीयतामाथि हमला बढ्दै गएकाले हामीले कानूनी पाइला पनि चालेका हौं,ʼ उनले भने, ʻकानूनमार्फत् यसको व्यवसायिक प्रयोगका लागि बाटो खुल्ला गर्ने, संवेदनशील विषयको सुरक्षा प्रबन्ध गर्ने गरी कानूनी व्यवस्था आवश्यक देखिएको छ ।ʼ

उनले पूर्वाधार मात्रै ब्यापक विस्तारमा मात्रै जोड नदिई यसबाट आउने चुनौतीलाई पनि नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताए । ʻहामीले इमर्जेन्सी रेस्पोन्स टिम (आइटी सर्ट) स्थापना समेत गर्न लागेका छौं,ʼ उनले भने । १५औं पञ्चवर्षीय योजनामा सूचना प्रविधिका विषयलाई ब्यापक रुपमा समेटेको र त्यसमा डाटा सेन्टरको विषयलाई प्रमुखताका साथ व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

 उक्त समिटमा जेनेस सफ्टवेयर सोलुसनका सचिन उदास, कमस्कोपका अमित चक्रवर्ती, नौटनिक्सका रिजनल सेल्स म्यानेजर गणेश लेर, डेल्टा इलेक्ट्रोनिक्स इण्डियाका बिजनेश हेड दीपकसिंह ठाकुर, हुवावे नेपाल टेक्नोलोजिजका गोङ, कास्परस्काईका सुदीप बस्नेत, इपिआई इण्डियाका सिद्धार्थ जैन, रोजेनबर्गर कुटुब उड्डिन डुर्लभ, नेटजुम टेक्नोलोजिज इंकका प्रियाकं बर्मालगायतले अनुसन्धान पत्र पेश गर्दै डाटा सेन्टर प्रडक्ट र सोलुसन्सका साथै  डाटा सेन्टरको गाइडलाइन, ग्लोबल स्ट्यान्डर्डको जानकारी  गराएका थिए ।

समिटकाे आयोजक नेपाल डाटा सेन्टर सोसाइटीका अध्यक्ष स्टार श्रेष्ठले पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सिलसिलामा यसै उद्योगभित्र रहेका अवसरहरुको छलफल भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने र नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन यो कार्यक्रमले सहयोग गर्ने आफूहरुको अपेक्षा रहेको बताए ।

यस समिटकाे अर्काे आयोजक एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले नेपालको डाटा नेपालमै रहनुपर्ने कानून आउन लागेको सन्दर्भमा ग्लोबल प्राक्टिस साथै नेपालको डाटा सेन्टर उद्योगमा रहेका अवसर र चुनौतीलाई यो कार्यक्रमले सम्बोधन गर्ने प्रयास रहेको बताए ।

यस डाटा सेन्टर समिटमा  राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता थियो ।  बैकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र,हस्पिटालिटी, एनजिओ र आइएनजिओ लगायतका प्रतिनिधिहरुकोले उल्लेख्य सहभागिता रहेको थियो ।साथै विभिन्न डाटा सेन्टर कम्पनीहरुले आफ्ना प्रडक्ट र सर्भिसको जानकारी दिन स्टल पनि राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here