फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
४ असार, काठमाडौं ।
कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’ को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए। यता विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए।
खेलको ४०औँ मिनेटमा डानिएल मुनोजले लुइस डियाजको पासमा वान–टच फिनिसिङ गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा उज्बेकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै ६०औँ मिनेटमा बराबरी गोल ग¥यो। अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।
बराबरीको खेलको केही समयमा नै लुइस डियाजले निर्णायक गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे।
यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा ३ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ।
For More:-Colombia Uzbekistan World Cup


